७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


खानेपानी रोकिएपछि महेन्द्र मञ्जिलमा समस्या


0
Shares

काठमाडौं, असोज ८ । खानेपानीको पाइप लाइन काटिएपछि महेन्द्र मञ्जिलका लागि पानी व्यवस्थापन निकै खर्चिलो बन्न पुगेको छ ।

महसुल नतिरेको भन्दै तत्कालीन मुमाबडामहारानी रत्न शाहको निजी निवास महेन्द्र मञ्जिलमा खानेपानीको आपूर्ति आठ वर्षअघि काटिएको थियो ।

खानेपानीको पाइप लाइन पुनः सुचारु गर्न महेन्द्र मञ्जिलमा कार्यरत कर्मचारीले निकै दौडधुप गरे पनि प्रयास सफल हुन सकेको छैन ।

तत्कालीन मुमाबडामहारानी रत्न, उनका सुसारे तथा सुरक्षाकर्मीका लागि महेन्द्र मञ्जिलमा दैनिक १२ हजार लिटर पानी खपत हुँदै आएको थियो ।

खानेपानी पाइप लाइन काटिएकाले तत्कालीन राजा वीरेन्द्रका पालामा किनिएको ट्याङ्करले दैनिक दुईपटक महाङ्कालबाट पानी ओसार्ने गरेको छ ।

रत्न शाहको रेखदेखमा खटिएका दरबारका पूर्वसचिव शम्भुप्रसाद अधिकारीले भने, ‘काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई एक पटकमा ८२० रुपियाँ बुझाउनुपर्छ । दुई ट्याङ्कर पानी दैनिक चाहिन्छ।’

‘यसरी पानी ओसार्दा निकै समस्या भएपछि नेपाल सरकारका मुख्य सचिवसम्मलाई गुहार्‍यौँ तर उहाँहरूबाट टाउको नदुखाउनुहोस् भन्ने जवाफ पायौँ”, उनले भने ।

महेन्द्र मञ्जिलका लागि पानी खरिदमा मासिक ५० हजार रुपियाँ खर्च हुँदै आएको छ भने ट्याङ्करको इन्धन र मर्मत खर्च अतिरिक्त लाग्दै आएको छ ।

ट्याङ्कर पुरानो भएकाले बिग्रिएर धेरै दुःख दिने गरेको गुनासो गर्दै उनले डिजेल पनि धेरै खपत हुने गरेको बताए ।

तत्कालीन राजा वीरेन्द्र भएकै बेला नारायणहिटी दरबारमा खानेपानीको अभाव भएपछि इनार खन्नुपर्ने वा बोरिङ गर्नुपर्ने विषय त्यहाँका कर्मचारीले उठाएका थिए ।

तर, तत्कालीन राजा वीरेन्द्रले राजपरिवारमा इनार खन्ने चलन नभएको र बोरिङ गर्दा पानीको सतह घट्नसक्ने भएकाले पानी ओसार्नु नै उपयुक्त हुने भन्दै ट्याङ्कर किन्न आदेश दिएका थिए। सोही अनुसार २०५५ सालमा छ हजार लिटर क्षमताको पानी ट्याङ्कर किनिएको थियो।

गोरखापत्र दैनिकबाट