
झापा, असोज ५ । झापामा शरणामति गाविसका लेखापाल यामनाथ रिजालको हत्या भएको छ ।
शरणामति–५ का ४२ वर्षीय रिजालको चप्रामारीमा हत्या गरिएको अवस्थामा बुधबार बिहान शव फेलापरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिए ।
सडक किनारमा रिजालको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको र शव परीक्षणका लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाएको प्रहरीले जनाएको छ ।
निधारमा र खुट्टाको औंलामा नीलोडाम देखिएकाले रिजालको कसैले हत्या गरेर सडक किनारमा फ्याँकेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । उनको शव घोप्टोपरेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
सुरुंगास्थित त्रिवेणी होटलमा मंगलबार राति अबेरसम्म साथीसँग बसेर रिजालले मादकपदार्थ सेवन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले उनीसँगै मादकपदार्थ सेवन गर्ने एक व्यक्तिलाई नियन्त्रणमा लिएपनि उनको नाम भने खुलाउन चाहेको छैन ।
नियन्त्रणमा लिएका व्यक्ति शरणामतिकै भएको र उनलाई अहिले इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर अनुसन्धान भइरहेको बताइएको छ । रासस
प्रतिक्रिया दिनुहोस्