
काठमाडौं, असोज ५ । नेपालको राष्ट्रिय भलिबल टोलीमा लामो समयदेखि योगदान पुर्याउँदै आएका दुई खेलाडी सञ्जय अर्याल र मञ्जु गुरुङ सम्मानित भएका छन् ।
सञ्जय स्मृति प्रतिष्ठानले राजधानीमा गरेको कार्यक्रममा राष्ट्रिय पुरुष भलिबल टोलीका उपकप्तान सञ्जय अर्याल तथा महिला टोलीकी उपकप्तान मञ्जु गुरुङलाई सम्मानित गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नयाँशक्ति नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले खेलाडीलाई कदरपत्रसहित सम्मान गरेका हुन् ।
प्रतिष्ठानले दुबै खेलाडीलाई जनही २५ हजार नगद पुरस्कार दिएको छ । गुरुङ र अर्यालले एक दशकदेखि नेपाली राष्ट्रिय टोलीबाट भलिबल खेली विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जित्नुभएको छ ।
स्वर्गीय सञ्जय मास्केको स्मृतिमा ७ वर्षअघि स्थापित प्रतिष्ठानले भलिबल खेल र समाज सेवाको क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्