११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


स्कुलमा किन गराइयो बम विस्फोट ? दुईजना पक्राउ, यस्ता छन् ‘माग’


0
Shares

काठमाडौं, असोज ४ । प्रहरीले उपत्यकाका विभिन्न निजी विद्यालयमा बम विस्फोट गराउने दुईजनालाई पक्राउ गरेको छ ।

प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विक्रमसिंह थापाले बम विस्फोट गराउने दुईजनालाई जोरपाटीबाट पक्राउ गरिएको र उनीहरुले अभियोग स्वीकार गरेको जानकारी गराए ।

‘यसअघि पनि उनीहरुलाई हामीले यस्तैखालको आरोपमा पक्राउ गरेका थियौ’–उनले भने–‘उनीहरुबारे थप अनुसन्धान हुँदैछ । चाँडै नै घटनाको सबै विवरण सार्वजनिक गर्छौं ।’

‘पक्राउ परेका दुबैजना अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र र योङ कम्युनिष्ट लिग फोर्सका कार्यकर्ता भएको पाइएको छ’ भन्दै प्रहरी उपरीक्षक थापाले ‘केन्द्र र फोर्सका कार्यकर्ताले आज बिहान उपत्यकाका दुईओटा निजी विद्यालयमा बम विस्फोट र अरु पाँच निजी विद्यालयमा शंकास्पद वस्तु राखेको’ बताए ।

उनीहरुले बिहान बौद्धस्थित आकाशदीप बोडिङ स्कुल र मनकामना उच्च माविमा बम विस्फोट गराएका थिए भने जोरपाटीको राई बोडिङ स्कुल, इस्टपोल स्कुल, ललितपुरको रेडियन्ट रिडर्स एकेडमी स्कुल, डल्लुको कन्चनजङगा बोडिङ स्कुल र जोरपाटीकै बालसंसार बोडिङ स्कुलमा प्रेसरकुकर बम र शंकास्पद वस्तु राखिएको भेटिएपछि सेनाको बम डिस्पोजल टोलीले निस्कृय पारेको थियो ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का अध्यक्ष लक्ष्यबहादुर केसीले बम विस्फोटको घटनाप्रति आपत्ति जनाउँदै सरकारसँग विद्यालयको सुरक्षा माग गरे ।

केन्द्र र फोर्सले विद्यालयमा फ्याँकेको पत्रमा निजी विद्यालयले वार्षिक दुई लाख ४० हजारभन्दा कम आय हुने तथा चल–अचल सम्पत्ति रु २० लाख भन्दामुनि हुने अभिभावकका छोराछोरीलाई निःशुल्क पढाउनुपर्ने, निजी र सरकारी विद्यालयको पाठ्यक्रम एउटै हुनुपर्ने, निजी विद्यालयले तोकेको स्थानबाट शैक्षिक सामग्री तथा ड्रेस किन्नुपर्ने बाध्यतालाई तुरुन्तै अन्त्य गर्नुपर्ने, आर्थिक अभावका कारणबाट शिक्षाबाट बन्चित हुने व्यवस्था अन्त्य हुनुपर्नेलगायतका ८ सुत्रीय माग अघिसारेका छन् । रासस