१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


नेपाल फिफा वरीयतामा दुई स्थान माथि, अर्जेन्टिना शीर्षमै, ब्राजिल पाँच स्थान उक्लियो


0
Shares

काठमाडौं भदौ ३० । विश्व फुटबल महासंघ (फिफा)को विश्व वरियतामा नेपाल दुई स्थान सुधार गर्दै १८६औं स्थानमा उक्लिएको छ ।

फिफाले विहीबार सार्वजनिक गरेको वरीयतानुसार अघिल्लो महिना १८८औं स्थानमा रहेको नेपालले दुई स्थान सुधार गरेको हो ।

विश्वमा दुई स्थान बढे पनि दक्षिण एसियाली क्षेत्रमा भने नेपाल चौथो स्थानमा कायम छ । दक्षिण एसियाली मुलुकमा भारत १४८औं वरीयातासहित शीर्ष स्थानमा छ । भारतले चार स्थान सुधार गरेको हो ।

केही समयअघिसम्म दक्षिण एसिया क्षेत्रमै रहेको अफगानिस्तानभन्दा भारत एक स्थान माथि छ । त्यस्तै, माल्दिभ्स १६५औं स्थानमा छ । उसले एकैपटक नवौं स्थान सुधार गरेको हो ।

त्यसैगरी, भुटान तीन स्थान माथि उक्लँदै १८९औं स्थानमा छ भने श्रीलंका र पाकिस्तान क्रमशः १९३ र १९४औं स्थानमा यथावत् छन् ।

फिफा वरीयाताको शीर्ष दुई स्थानमा अर्जेन्टिना र बेल्जियम यथावत् छन् । विश्वविजेता जर्मनी तेस्रो स्थानमा उक्लँदा कोलम्बिया चौथो स्थानमा झरेको छ ।

पाँचपटकको विश्व विजेता ब्राजिल पाँच स्थान सुधार गर्दै वरीयताको पाँचौं स्थानमा पुग्न सफल भएको छ ।

वरीयताको छैटौं, सातौं, आठौं र नवौं स्थानमा क्रमशः कोपा अमेरिका विजेता चिली, युरोकप विजेता पोर्चुगल, फ्रान्स र उरुग्वे छन् । यीमध्ये चिली, पोर्चुगल र फ्रान्स एक/एक स्थान झरेका हुन् भने उरुग्वेले तीन स्थान सुधार गरेको हो ।

त्यस्तै, एक स्थान सुधार गर्दै वेल्स शीर्ष १० भित्र पर्न सफल भएको छ । फिफाले हरेक महिना विश्व वरीयता सार्वजनिक गर्ने गर्छ । रासस