७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


पासपोर्ट विना नै सुडान पुगेको नेपाली सेनाको टोली फर्काइयो


0
Shares

काठमाडौं, भदौ ३० । नेपाली सेनाले देशको ऐनकानुन पालना गर्न नमान्दा राष्ट्र नै लज्जित हुनु परेको छ ।

मंगलबार संयुक्त राष्ट्रसंघको शान्ति मिसनअन्तर्गत द्वन्द्वग्रस्त अफ्रिकी राष्ट्र दक्षिण सुडानमा सुरक्षार्थ खटिन पुगेको नेपाली सेनाको २ सय ३२ जनाको टोली अपमानित भएर फर्कनुपर्‍यो ।

अपमानित हुनुपर्ने कारण थियो– उनीहरु कसैसँग पनि साथमा पासपोर्ट थिएन ।

सुडान अध्यागमनले ‘इन्ट्री’ (प्रवेश) हुन पासपोर्ट मागेपछि मात्र नेपाली सेनाको टोलीले आफूहरुसँग पासपोर्ट नभएको थाहा पाएको थियो । त्यसपछि अध्यागमनले उनीहरु सबैलाई जुन विमानमा गएका थिए, त्यही विमानमा नेपाल फिर्ता पठाएको थियो ।

‘असावधानीले सबै नेपाली सेनाको पासपोर्ट त्रिभुवन विमानस्थलमै छुटेछ, यसै कारण दक्षिण सुडानको अध्यागमनले उनीहरुलाई नेपाल नै फिर्ता पठाएको रहेछ,’ नेपाली सेनाका सहप्रवक्ता रामनाथ ढुंगानाले जानकारी दिए ।

सुडानले फिर्ता पठाएपछि बुधबार बिहान काठमाडौं आइपुगेको सैनिक जवानहरुको टोली छुटेको पासपोर्ट लिई पुनः बुधबारै सुडान प्रस्थान गरेको थियो ।

‘देशको नियमकानुनअनुसार सर्वसाधारण जाने बाटोबाट सेना गएको भए यतिठूलो दुर्घटना हुँदैनथ्यो, सेनाले सर्वसाधारण जाने टर्मिनलबाट जान मान्दैन,’ स्रोतले भन्यो, ‘उनीहरु चढ्ने जहाजै अतिविशिष्ट कक्ष नजिक लगिन्छ र त्यहीबाट चढ्ने÷ओर्लने काम हुन्छ । उनीहरु जाँदा र आउँदा के सामान लान्छन् तथा ल्याउँछन्, न विमानस्थल अध्यागमनलाई थाहा हुन्छ न भन्सार ।’ –नागरिक दैनिकबाट