
काठमाडौं, भदौ २६ । प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले बाल यौन दुराचारमा संलग्न ४८ वर्षीय अमेरिकी नागरिक केन्निथ जोसेफ कोम्बस र बाल यौन दुराचारका निम्ती निजलाई सहयोग गर्ने काठमाडौं स्वयम्भू बस्ने २१ बर्षीय लुच्चे भन्ने बुद्ध पुतवारलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार शुक्रबार ठमेल स्थित यम्बु होटलबाट उनीहरुलाई पक्राउ गर्नुका साथै ५ जना पीडित बालकलाई होटल परिसरबाटै उद्धार गरिएको छ ।
पटक–पटक नेपाल आएका निज अमेरिकी नागरिकले पछिल्लो पटक २३ अगष्ट २०१६ (भदौ ७) देखि निरन्तर होटलमा बसी आफ्नो सहयोगीमार्फत विभिन्न स्थानहरूबाट दर्जनौं नेपाली बालबालिकाहरूलाई विभिन्न प्रलोभनमा पारी आफु बसेको होटलसम्म ओसारपसार गर्न लगाई बाल यौन दुराचार तथा यौन शोषणसमेत गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका दुबैजना विरुद्ध काठमाडौं जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसार पसार र बाल यौन दुराचार मुद्दा अन्तर्गत म्याद लिई थप अनुसन्धान भईरहेको छ ।
प्रतिक्रिया दिनुहोस्