७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


‘संविधान संशोधनका नाममा एमाले फुटाउने षड्यन्त्र’


0
Shares

काठमाडौं, भदौ २६ । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले संविधान संशोधनका लागि संसद्मा दुईतिहाइ मत पुर्‍याउन आफ्नो पार्टी फुटाउने गम्भीर षड्यन्त्र भइरहेको दाबी गरेका छन् ।

पार्टी कार्यालय धुम्बाराहीमा शनिबार बसेको स्थायी समिति बैठकमा ओलीले विदेशी शक्तिले त्यस्तो षड्यन्त्र गरेकाले एकताबद्ध र संगठित प्रतिवाद गर्नुपर्ने आवश्यकतासमेत औाल्याए ।

तर, कुन शक्तिले पार्टी फुटाउने षड्यन्त्रका के–कस्ता योजना बनाइरहेका छन् भन्ने कुरा ओलीले स्पष्टसँग खुलाएनन् ।

उनले एमालेबाहेक राप्रपा नेपाललगायतका अरू राष्ट्रवादी शक्तिलाई समेत जसरी पनि फुटाएर संविधान संशोधनका लागि दुईतिहाइ पुर्‍याउने खेल भइरहेकोसमेत चर्चा गरे ।

‘उहाँले संविधान संशोधनका लागि एमालेलगायतका राष्ट्रवादी शक्तिलाई फुटाउने षड्यन्त्र भइरहेकाले गम्भीर बन्नुपर्ने भनाइ राख्नुभयो,’ ओलीलाई उद्धृत गर्दै एक पदाधिकारीले भने ।

सरकारले प्रधानमन्त्रीको भारत भ्रमणअगावै आन्दोलनरत संघीय गठबन्धनमा आबद्ध मधेसी मोर्चाको माग पूरा गर्न संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता गर्ने गृहकार्य गरिरहेका वेला प्रमुख विपक्षी एमाले अध्यक्ष ओलीले स्थायी समितिमा त्यस्तो भनाइ राखेका हुन् ।

पञ्चेश्वर र रेडियोमा राष्ट्रघातको सम्भावना

एमाले बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा कुन–कुन एजेन्डामा छलफल हुने र के–कस्ता विषयमा सम्झौता हुने अझै प्रस्ट हुन नसकेको भन्दै थुप्रै विषयमा राष्ट्रहितविरुद्ध सम्झौता हुनसक्ने खतरा पनि औाल्याएको छ ।

बैठकमा उपाध्यक्ष भीमबहादुर रावलले रेडियो नेपाल र अल इन्डिया रेडियोबीच सहकार्यको सम्झौता राष्ट्रहितविरुद्ध हुने भनाइ राखेका थिए ।

त्यस्तै, बहुचर्चित पञ्चेश्वर आयोजना विस्तृत सम्झौता प्रतिवेदनलाई अन्तिम रूप दिँदा केही बुँदाहरू नेपालको हितविरुद्ध हुनसक्ने भन्दै त्यसमा एमालेले चासोसमेत प्रकट गरेको छ ।

प्रधानमन्त्रीसँग उच्चस्तरीय वार्ता गर्ने

बैठकले प्रधानमन्त्री प्रचण्डको आसन्न भारत भ्रमणका एजेन्डाबारे पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डलले छलफल गर्ने निर्णय गरेको छ ।

‘भ्रमणका वेला नेपालको राष्ट्रिय हितलाई पहिलो प्राथमिकतामा राखी नेपाल–भारत सम्बन्धलाई सुमधुर बनाउँदै नेपालका तर्फबाट उठाउनुपर्ने विषयवस्तुबारे पार्टीको उच्चस्तरीय प्रतिनिधमण्डलले प्रधानमन्त्रीसँग भेटी छलफल गरी ध्यानाकर्षण गर्ने निर्णय गरेको छ,’ बैठकपछि सचिव तथा प्रचार विभागका प्रमुख योगेश भट्टराईले भने ।

ओली नेतृत्वको सरकारले नेपालले भारतको विशाखपटनम बन्दरगाह प्रयोग गर्न पाउनेसम्बन्धी सम्झौताको कार्यान्वयन, पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत प्रतिवेदन कार्यान्वयनलगायतका विषयमा सुझाब दिनका लागि छलफल हुने एमालेले जनाएको छ ।

भ्रमणमा कुनै पनि प्रकारको राष्ट्रहितविरोधी सम्झौता नगर्न पनि ध्यानाकर्षण गराइएको भट्टराईले जानकारी दिए ।

केन्द्रीय कमिटीका लागि नौ एजेन्डा

स्थायी समितिले आगामी ५ असोजबाट सुरु हुने केन्द्रीय कमिटी बैठकका लागि एजेन्डासमेत तय गरेको सचिव भट्टराईले बताए ।

उनका अनुसार बैठकमा अध्यक्षद्वारा विकसित राजनीतिक परिस्थिति र पार्टीका कार्यभार सम्बन्धमा राजनीतिक तथा सांगठनिक प्रतिवेदन, आगामी कार्ययोजना, पार्टीको संगठनात्मक संरचनाको पुनव्र्यवस्थापन, केन्द्रीय कमिटी सदस्यको कार्यविभाजनको पुनर्संयोजन, प्रदेश संगठन कमिटीको नामावलीको अन्तिम टुंगो, पार्टी प्रवेश र त्यसको व्यवस्थापन, सल्लाहकार परिषद्मा सदस्यको मनोनयन तथा ज्येष्ठ कम्युनिस्ट मञ्च गठन तथा स्थानीय तहको पुनर्संरचनालगायतका विषय एजेन्डा हुनेछन् ।

नयाँ पत्रिका दैनिकबाट