११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


दाङमा गोली चल्यो, एक घाइते, पाँचजना पक्राउ


0
Shares

दाङ, भदौ २५ । प्रहरीको गस्ती टोलीमाथि आक्रमण गर्नेहरुलाई गरेको जवाफी कारबाहीमा गोली लागेर दाङमा एकजना घाइते भएका छन् ।

प्रहरीले चलाएको गोली लागेर शुक्रबार रामपुर–९ का २७ वर्षीय दानबहादुर बुढा घाइते भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक धिरजप्रताप सिंहले जानकारी दिए ।

बुढालाई दाहिने खुट्टामा गोली लागेको र उनको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार भइरहेको छ ।

बुढा यसअघि पनि विभिन्न व्यापारीलाई फोनमा धम्किदिने र रकम असुल्ने व्यक्ति भएको खुलेको पनि प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शुक्रबार राति साढे १२ बजे तुलसीपुर–घोराही सडकखन्डको ग्वारखोलानजिकै पाँचजनाको संख्यामा रहेका ‘गुन्डा’हरुको समूहले गस्तीमा रहेको प्रहरी टोलीमाथि आक्रमण गरेको थियो । जवाफी कारबाहीमा प्रहरीले गोली चलाएको हो ।

घटनास्थलबाट प्रहरीले दुईथान खुकुरी बरामद गरेको छ । आक्रमणमा संलग्न रहेको आरोपमा प्रहरीले पाँचजनालाई पक्राउ गरेको जनाइएको छ ।