१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


अमेरिका र रुस एकसाथः सिरियामा द्वन्द्व समाधानका लागि एकीकृत प्रयास गर्न सहमत


0
Shares

काठमाडौं, भदौ २५ । सिरियामा जारी द्वन्द्व समाधानका लागि एकीकृत प्रयास गर्न अमेरिका र रुस सहमत भएका छन् ।

आगामी सोमबार साँझदेखि सिरियामा विद्रोहीविरुद्ध एकीकृत कारबाही अभियान चलाउन दुई देश शुक्रबार सहमत भएका छन् ।

योसँगै दुई देशबीच उत्पन्न भएको शत्रुता अन्त्य गर्नसमेत दुई देश सहमत भएका हुन् ।

सिरियामा विद्रोहीविरुद्ध एकीकृत कारबाही अभियानपूर्व सिरिया सरकारलाई विपक्षीको नियन्त्रणमा रहेको क्षेत्रमा सैन्य कारबाही रोक्न आग्रह गरिने भएको छ ।

त्यसका लागि अमेरिकाले संयुक्त केन्द्र स्थापना गर्ने र त्यही केन्द्रमार्फत् इस्लामिक स्टेट (आइएस) तथा अल–नुस्राविरुद्ध संयुक्त कारबाही अभियान चलाइने अमेरिकी विदेशमन्त्री जोन केरीले बताएका छन् ।

जेनेभामा अमेरिकी विदेशमन्त्री जोन केरी र रुसी विदेशमन्त्री सर्गेइ लाभरोभबीच भएको छलफलपछि दुई देशले सिरिया मुद्दामा एक भएर लाग्ने घोषणा गरेका हुन् ।

तर, यसका लागि सिरिया सरकार र विपक्षी दुबैले सहयोग गर्नुपर्ने अमेरिकी विदेशमन्त्री केरीले बताए ।

रुसका विदेशमन्त्री लाभरोभले सहमतिकाबारेमा सिरिया सरकारलाई जानकारी गराएको र उसले गम्भीरता देखाएको बताएका छन् ।

सिरियाली विपक्षीलाई अमेरिकाले सैन्यसहितको सहयोग गर्दै आएको छ भने रुसले राष्ट्रपति बसर अल असद पक्षलाई सहयोग गर्दै आएको छ । जसका कारण अमेरिका र रुसबीच तनाव बढेको थियो । (एजेन्सी)