
काठमाडौं, भदौ २४ । मन्त्रिपरिषद्ले प्रधानमन्त्री पुष्पकमल दाहालको संयुक्त राष्ट्रसंघको महासभाका लागि ३ देखि १२ असोजसम्म न्युयोर्क भ्रमण तय गरेको छ । भारत भ्रमणबारे अर्को बैठकबाट निर्णय हुने भएको छ ।
भारत भ्रमणका अधिकांश कार्यक्रम भने तय भइसकेको छ ।
प्रधानमन्त्री दाहालको भ्रमण तयारीका लागि परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत २६ भदौमा नयाँदिल्ली जाने भएका छन् । भारतका विदेशमन्त्री सुष्मा स्वराजको निमन्त्रणामा महत दिल्ली जान लागेका हुन् ।
प्रधानमन्त्री दाहालको भ्रमण टोलीमा परराष्ट्रमन्त्री महत दिल्लीमै सहभागी हुनेछन् । प्रधानमन्त्री भ्रमण सकेर २ असोजमा स्वदेश फर्किएपछि सोही दिन महत दिल्लीबाटै संयुक्त राष्ट्रसंघको महासभाका लागि न्यूयोर्क जाने भएका छन् ।
कस्ता छन् दिल्लीका कार्यक्रम ?
औपचारिक निर्णय हुन बाँकी रहे पनि प्रधानमन्त्री दाहालको भारत भ्रमणका अधिकांश कार्यक्रम तय भएका छन् ।
३० भदौको बिहान ११ बजे नेपाल एयरलाइन्सबाट प्रधानमन्त्री नयाँदिल्ली जानेछन् भने २ असोज दिउँसो १ बजेको उडानबाट स्वदेश फर्किने तय भएको छ ।
प्रधानमन्त्री दाहाल दिल्लीमा राष्ट्रपति भवनमा बस्नेछन् । प्रधानमन्त्री दाहाल ३० भदौमा दिल्ली जानासाथ तीन कार्यक्रममा सहभागी हुनेछन् ।
प्रधानमन्त्रीले दिल्लीमा रहेका माओवादी केन्द्रका अगुवा कार्यकर्तासँग भेटवार्ता गर्नेछन् । त्यसलगत्तै भारतका बुद्धिजीवी, सांसदलगायतसँग प्रधानमन्त्रीको भेट हुनेछ ।
साँझ नेपाली दूतावासले आयोजना गर्ने रात्रिभोजमा प्रधानमन्त्री सहभागी हुनेछन् । प्रधानमन्त्री दाहालका सबै उच्चस्तरीय भेटवार्ता ३१ भदौमा हुनेछन् । प्रधानमन्त्री दाहाललाई राष्ट्रपतिभवनमा भारतीय सेनाले गार्ड अफ अनर दिनेछ ।
उनले भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदराबाद हाउसमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । राष्ट्रपतिभवनमा राष्ट्रपति प्रणव मुखर्जीसँग भेटवार्ता हुनेछ ।
प्रधानमन्त्री दाहालले मोदीलाई नेपाल भ्रमणका लागि आग्रह गर्नेछन् भने राष्ट्रपति विद्या भण्डारीका तर्फबाट मुखर्जीलाई नेपाल भ्रमणको निमन्त्रणा दोहोर्याउनेछन् । हैदराबाद हाउसमा प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री मोदीले संयुक्त रूपमा पत्रकार ब्रिफिङ गर्ने कार्यक्रमको गृहकार्य भइरहेको छ । ‘यसका लागि कोसिस भइरहेको छ,’ परराष्ट्र स्रोतले भन्यो । सोही दिन प्रधानमन्त्री दाहाललाई भारतका विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह, विदेशसचिव एस जयशंकर, मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकारले भेटवार्ता गर्नेछन् । सोही दिन साँझ नेपाल र भारतबीच संयुक्त विज्ञप्ति प्रकाशन हुनेछ ।
प्रधानमन्त्रीलाई भारतीय जनता पार्टी, भारतीय राष्ट्रिय कंग्रेस, कम्युनिस्ट पार्टी मार्क्सवादी, जनता दल युनाइटेडका शीर्ष नेताले पनि भेट्ने कार्यक्रम छ । भ्रमणको तेस्रो दिन प्रधानमन्त्री दाहाल हिमाचल प्रदेशस्थित कोलड्याम हाइड्रोपावरको बाँध निरीक्षण गर्न जाने कार्यक्रम छ । बिहान बाँध हेर्न गएर अपराह्न दिल्ली नै फर्किने र राजनीतिक भेटवार्ता पनि हुनेछन् ।
प्रधानमन्त्री दाहाललाई बेंग्लोर लैजाने भारतको प्रस्ताव थियो । तर, दाहालको इच्छा नभएका कारण भारत सरकारले हिमाञ्चल लैजाने कार्यक्रम बनाएको हो । यसमा प्रधानमन्त्रीले कूटनीतिक च्यानलमार्फत सहमति जनाएका छन् ।
प्रधानमन्त्री दाहाल २ असोजको बिहान राजनीतिक भेटवार्ता सकेर दिउँसो स्वदेश फर्किने कार्यक्रम छ । –नयाँ पत्रिका दैनिकबाट
प्रतिक्रिया दिनुहोस्