
काठमाडौं, भदौ २४ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चक्रपथभित्र र चक्रपथ बाहिर २ किलोमिटरसम्म चल्ने ट्याक्सीले अनिवार्य रुपमा मिटर चलाएरमात्र यात्रु बोक्न पाउने व्यवस्था लागू गरेको छ ।
अब ट्याक्सी चालकले चक्रपथ भित्र र त्यसको २ किलोमिटर बाहिर मिटर अनुसारको भाडामात्र यात्रुसँग लिन पाउनेछन् ।
प्रहरीले गत शनिबारदेखि यो नियम लागू गरेको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रकाश अर्यालले चालकले मिटरमा उठेको भाडामात्र यात्रुसँग लिन पाउने बताए ।
उनले मनपरी चर्को भाडा असुलेको गुनासो यात्रुबाट आएपछि महाशाखाले शनिबार नियम लागू गरेको जानकारी दिए । उनले भने, ‘अब यात्रुलाई ट्याक्सी चालकले ठग्न पाउने छैनन्, रिङरोड क्षेत्रमा गुड्ने सबै ट्याक्सीको ट्राफिक प्रहरीले अनुगमन र निगरानी गर्नेछ ।’
यात्रु बसेको कुनै ट्याक्सीमा मिटर सूचारु नगरेको फेला परे ५ हजार रुपैयाँसम्म जरिवाना गरिने ललितपुरका ट्राफिक प्रहरी इन्चार्ज सिताराम हाछेथुले बताए । –नागरिक दैनिकबाट
प्रतिक्रिया दिनुहोस्