
बेइजिङ, भदौ २० । मानव अंग प्रत्यारोपण अन्तर्गत आँखा, मिर्गौला लगायतका अंग प्रत्यारोपण गरिनु सामान्य विषय हो तर चीनले मानव शरीरको मुख्य हिस्सा अर्थात् टाउको नै प्रत्यारोपणको तयारी गरेको छ ।
चिकित्सा विज्ञानमा यसलाई निकै महत्वाकांक्षी मानिएको छ । यसअघि अमेरिकामा बाँदरको शीर अर्को बाँदरमा प्रत्यारोपण गरिएको थियो । सन् १९७० मा भएको सो प्रत्यारोपणको केही दिनमै बाँदरको मृत्यु भएको थियो ।
चीनमा आगामी वर्षको सुरुवातमा मानव शीर प्रत्यारोपण गर्ने योजनाका साथ तयारी भइरहेको अधिकारीहरुको भनाइ छ । सबैकुरा सामान्य भएमा एक रुसी युवकको शीर अर्काको शरीरमा प्रत्यारोपण हुनेछ । मानव शीर प्रत्यारोपणको यो नै पहिलो घटना पनि हुनेछ ।
रुसका ३१ वर्षीय कम्प्युटर वैज्ञानिक भेलोरी स्पीरीदोनोभले आफ्नो शीर स्वेच्छिक रुपमा दान दिने घोषणा गरिसकेका छन् । उनी मांसपेशी दुर्विकास रोगका बिरामी हुन् । उनको शरीरको अन्य भागको समुचित विकास अवरुद्ध छ भने शीर सामान्य अवस्था मै रहेको छ ।
बेइजिङको हार्बिन मेडिकल युनिभर्सिटी आवद्ध अस्पतालमा इटालीका ६१ वर्षीय चिकित्सक सर्जियो कानाभेरो र अमेरिकामा रहँदै आएका चिनियाँ चिकित्सक रेन झियोपिङले शल्यक्रियाको नेतृत्व संयुक्तरुपमा गर्नेछन् ।
शल्यक्रियामा करिब ८० चिकित्सकको टोली रहने जनाइएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्