१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


न्यू डायमण्डलाई चौथोपटक राष्ट्रिय महिला भलिबलको उपाधि


0
Shares

लामाचौर, भदौ १९ । न्यू डायमन्ड एकेडेमीले लगातार चौथो पटक राष्ट्रिय महिला भलिबलको उपाधि जितेको छ ।

आइतबार डायमन्डले विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ३०–२८, २५–१५ र २५–२० ले हराउँदै उपाधि जितेको हो । डायमन्डको जितमा सर्वाधिक स्कोर जोडेकी प्रतिभा मालीले २५ स्कोर गरिन् । यसैैगरी डायमन्डकी कप्तान ललिता नाथले ८ र पनमिका राईले ७ स्कोर गरिन् ।

आइतबार पोखरा लामाचौरमा भएको खेलमा डायमन्डकी सेटर कृपा अधिकारी, लिबेरो सलिना श्रेष्ठले उत्कृष्ट प्रदर्शन गरेका थिए । समीक्षा घिमिरेले डिफेन्समा उत्कृष्ट बचाउ गरिन् ।

सबिता लोले सर्भिसबाट ३ अंक लिदै एपिएफका खेलाडीलाई निराश बनाएकी थिइन् ।

यसैगरी एपिएफले भने पुनः एक पटक लामाचौरमा खराब प्रदर्शनलाई निरन्तरता दियो । एपिएफ यस प्रतियोगितमा मुख्य स्पाइकर सरस्वती चौधरी बिना खेलिरहेको छ । एपिएफकी रेश्मा भण्डारीले १२ स्कोर, नेविका चौधरीले १२ र उषा विष्ट ५ स्कोर गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

न्यू डायमन्डका प्रशिक्षक कुमार राईले टोलीले आफ्नो पुरानो साखलाई पुन फर्काएको बताए । उनले भने, ‘एपिएफसँग हामी धेरैजसो प्रतियोगितामा हार्ने गरेका छौं । तर लामाचौरमा हामी सधैं एपिएफलाई पराजित गर्छौं । पुनः एक पटक त्यो नतिजा दोहोरिदा खेलाडीको मनोबल बढेको छ । खुसी छौं ।’

यसैगरी कप्तान ललिता नाथले टिमले आफ्नो स्वाभाविक खेल खेलेपछि घरेलु भलिबलमा नम्बर एक हुन समस्या नहुने बताइन् ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीको उपाधि प्रतिभा मालीले जितिन् । यसैगरी उत्कृष्ट क्विकर डायमन्डकी ललिता नाथ, उत्कृष्ट सेटर कृपा अधिकारी, उत्कृष्ट डिफेन्स सलिना श्रेष्ठ र उत्कृष्ट प्रशिक्षक कुमार राई चुनिए ।

एपिएफकी रेश्मा भण्डारी उत्कृष्ट स्पाइकर बन्दा आर्मीकी मनिषा खाँड उत्कृष्ट ब्लकर चुनिइन् । पश्चिमाञ्चलको टप्स स्कुलकी अरुणा शाही उत्कृष्ट सर्भरबाट सम्मानित भइन् ।

घरेलु टोेली पश्चिमाञ्चलको टप्स स्कुलले त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा हराउँदै तेस्रो स्थान हासिल गरेको छ । टप्सले आर्मीलाई २५–१६, २५–१२, २५–१५ ले हरायो । टप्सको जितमा स्पाइकर अरुणा शाहीले उत्कृष्ट प्रदर्शन गरिन् ।

प्रतियोगिताको विजेता डायमन्डले ७५ हजार, एपिएफले ५० हजार र टप्सले २० हजार रुपैयाँ पायो ।