
काठमाडौं, भदौ १९ । नेपाल क्रिकेट संघको विवाद समाधानको लागि क्रिकेट विकास बोर्ड गठन गर्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसी सहमत भएको छ ।
विवाद समाधानको प्रयास गर्न नेपाल आएको आईसीसीका प्रमख कार्यकारी अधिकृत डेभिड रिचार्डशनको टोलीले नेपाली पक्षसँग आज गरेको छलफलमा यस्तो सहमति भएको हो ।
छलफलमा नेपालको तर्फबाट युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाली, राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टलगायत सहभागि थिए ।
लामो समयदेखिको विवाद समाधानको लागि हालको क्रिकेट संघ क्यानको संरचना खारेज गरी क्रिकेट विकास बोर्ड गठन गर्न खेलकुद परिषदले प्रस्ताव गरेको थियो ।
आईसीसी टोलीले यसमा सहमति जुटाउँदै तत्काल सल्लाहकार समूह बनाउने भएको छ । विवादरहित ५ देखि ७ सदस्य रहने यस समूहले बोर्ड गठनको लागि सल्लाहकार समितिको रुपमा काम गर्नेछ ।
बोर्ड गठन गर्ने नयाँ अवधारणप्रति सरकार र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल सहमत भइसकेको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले जानकारी गराए ।
यसअघि आईसीसीको प्रतिनिधिमण्डलले आजै बिहान प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेको थियो ।
प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटमा प्रधानमन्त्री दाहाल, खेलकुदमन्त्री दलजित श्रीपाइली, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव विष्ट, निलम्बित नेपाल क्रिकेट संघ क्यानकी प्रमुख कार्यकारी अधिकृत भावना घिमिरे सहभागि थिए ।
आइसीसीसंगको भेटमा प्रधानमन्त्री दाहालले नेपालमा क्रिकेटको धेरै ठूलो क्रेज रहेकाले सरकार क्रिकेटको विकासका लागि प्रयत्नशिल रहेको बताए ।
उनले यसका लागि खेलकुद मन्त्रालय र नेपाल खेलकुद परिषदलाईसमेत निर्देशन दिइसकेको जानकारी गराएका थिए ।
प्रतिक्रिया दिनुहोस्