
काठमाडौं, भदौ १८। गोरखा सामागाउँ ५ का मिङ्मार लामा साउन २६ गते गाउँको गन्नेमान्ने पाँच जनाका साथमा तिब्बतको कोङदाङ सहर गए ।
अघिल्ला वर्षहरूमा जस्तै त्यहाँको सरकारका प्रतिनिधि (स्याङताङ) भेटेर सीमानाका खुलाइदिन आग्रह गरे । हरेक वर्ष यार्सागुम्बा टिपिसकेपछि खुल्ने नाका यस वर्ष खुल्न ढिला भइसकेको थियो ।
स्याङ्तालङले भदौ १० गतेभित्र नाका खुलाउने निर्णय गरी टेलिफोन गर्ने वचन दिए । नभन्दै भदौ १० गतेदेखि सामागाउँको रूइला नाका १५ दिनको लागि खुल्यो ।
एक वर्षदेखि बन्द रहेको नाका खुल्दा खुसी भएका सामागाउँ, ल्हो, प्रोक र बिहि गाविसका एक हजार घरधुरीका बासिन्दा बाँध फुटेपछिको खोलाझै गोठमा रहेका याक, नाक, झोपा लर्कन लिएर तिब्बततिर जान थाले ।
मिङ्मारको टोली बिहीबार बिहान खाजा खाएर साढे ६ बजेतिर याक, चौरी, झोपा धपाउँदै कोङ्दाङ हिँडे । उनका साथमा गाउँका १२ जनाको टोली थियो । उनीहरु अपरान्ह साढेचार बजेतिर ३५ नम्बर पिलर रहेको सिमानानजिक पुगे ।
एकै दिनमा त्यहाँ भन्दा उता कट्न मिल्दैन् किनभने कोङदाङ नपुगेसम्म याक चौंरी, झोपालाई राख्ने, खुवाउने ठाउँ पाइदैन् । बीच बाटोमा अलपत्र भइन्छ । त्यसैले सिमानाको ड्यास्युथाङको चौरमा पुगेपछि बास बस्ने सुरसार गर्न थाले ।
नेपाल र चीन सरकारबीच गोरखाको छेकम्पार, सामागाउँलगायत देशरिका नौवटा नाका बार्है महिना खुला गर्ने गत बर्ष दुईपक्षीय निर्णय भएको थियो । छेकम्पारको डुङलाना सधै खुल्ला भयो । आफूहरुले रुइला नाका भने बर्षमा एकफेर खुलाउन पनि तिब्बत सरकारसँग बिन्तीभाउ गरिरहनुपरेकामा सामागउँबासी दुःखी छन् ।
शिव उप्रेती, अन्नपूर्ण पोष्ट दैनिकबाट
प्रतिक्रिया दिनुहोस्