
काठमाडौं, भदौ १५ । मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा सहभागी हुन जापान जानेक्रममा टोकियो विमानस्थलबाटै जुलाई १५ तारिखमा नेपाली खेलाडी बेपत्ता भएकाबारे पत्ता लगाउन राष्ट्रिय खेलकुद परिषद (राखेप)ले मंगलबार छानबिन समिति गठन गरेको छ ।
उक्त खेलाडी बेपत्ता प्रकरणबाट अन्तर्राष्ट्रिय जगत्मा नेपालको प्रतिष्ठामा मानमर्दन भएको, खेलाडीको मनोबल गिरेको र आमजनमासमा खेलकुदप्रति नकारात्मक सन्देश प्रवाह हुनुका साथै पूर्वराष्ट्रिय खेलाडी, नेपाल क्रिकेट खेलाडी संघलगायतले छानबिनको माग गरेका थिए ।
राखेपले आफ्ना सदस्य शैलेश कर्माचार्यको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिए ।
समितिका सदस्यमा राखेपअन्तर्गत् संघ–संस्था समन्वय शाखाका प्रमुख डेमबहादुर बस्नेत र कानुन शाखाका प्रमुख नारायण अर्याल रहेका छन् ।
समितिलाई सात बुँदामा केन्द्रित रहेर सत्यतथ्य पत्ता लगाइ १५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ ।
समितिलाई सो कार्यमा कसको संलग्नता रहेको छ, प्रतियोगतामा सहभागी हुन कुन निकायले खर्च व्यहोरेका हो, अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)को आधिकारिक प्रतियोगिता हो कि होइन, क्रिकेट पदाधिकारी र कर्मचारीको संलग्नता छ कि छैन, राखेपको पूर्वस्वीकृति नलिइ किन प्रतियोगितामा भाग लिएको भन्ने विषयमा छानबिन गर्न भनिएको छ ।
त्यस्तै, आइसिसीको निर्देशनअनुसार राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक जगत टमाटामार्फत् खेलाडीलाई स्पष्टीकरण पनि सोध्न भनिएको प्रेस सल्लाहकार दाहालले बताए । रासस
प्रतिक्रिया दिनुहोस्