११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


कोलम्बियाली विद्रोही फार्कले युद्ध रोक्ने


0
Shares

काठमाडौं, भदौ १३ । कोलम्बियाली विद्रोही फार्कले आफ्ना लडाकूलाई इमान्दारीपूर्वक युद्धविराम पालना गर्न र निरीक्षण गर्न आह्वान गरेको छ ।

फार्क नेता रोड्रिगो लोन्दोनोले आफ्ना लडाकूलाई युद्ध रोक्न आदेश दिएका हुन् । कोलम्बियाली राष्ट्रपति जुआन मानुअल सान्तोसले पनि सेनालाई सबै सैन्य कार्वाही रोक्न आदेश दिएका छन् ।

सरकारसँग सहमति गर्दै फार्कले ५२ वर्षदेखि जारी युद्ध अन्त्य गर्दै नयाँ राजनीतिक मार्गमा चल्ने निर्णय गरेको थियो ।

विश्वकै सबैभन्दा लामो गृहयुद्ध मानिने फार्क विद्रोहको मध्यरातदेखि विधिवत रुपमा युद्धविराम गरिएको हो ।

चार वर्ष लामो शान्ति वार्तापछि युद्ध त्यागेर मुलुकमा शान्ति बहाल गर्ने फार्कले हालै क्यूवामा सरकारी पक्षसँग सहमति गरेको थियो ।

शान्ति सम्झौतामा भने अझै केही हप्तापछि मात्र हस्ताक्षर गरिने जनाइएको छ । बुधवार राजधानी हवानामा शान्ति स्थापनासम्बन्धी घोषणा गरिएको थियो ।

फार्कले शान्ति सम्झौतामा हस्ताक्षर गरिसकेपछि आउँदो अक्टोबर २ मा जनमत संग्रह गर्ने सहमति बनेको छ ।

मुख्य वामपन्थी विद्रोही फार्कसँग शान्ति स्थापनामा सहमति बनेसँगै सरकारले दोस्रो ठूलो मानिने अर्को विद्रोही नेशनल लिबरेशन आर्मीसँग वार्ता प्रक्रिया सुरु गर्दैछ ।