६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


उपचार नपाएर दुई दूधे बालिकाको मृत्यु


0
Shares

हुम्ला, भदौ ११ । हुम्लाको मध्यभेगमा पर्ने रोडिकोट गाविसस्थित स्वास्थ्यचौकीमा उपचार सेवा नपाएर दुई दूधेबालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रोडिकोट–८ का राजबहादुर कार्कीको आठ महिनाको छोरी सुशीला र सोही ठाउँ बस्ने अंगत कार्कीको दुई महिनाको छोरी सुस्मिता रहेका छन् । ती दुबैजनाको निमोनिया र ज्वरोका कारण मृत्यु भएको हो ।

सो गाविसका स्थानीय बासिन्दा अदानसिंह कार्कीले स्वास्थ्यचौकीमा कुनैपनि औषधि नभएको बताए ।

उनले भने–‘स्वास्थ्यचौकीमा सिटामोलसमेत छैन ।’

वर्षासँगै प्रदूषित पानी पिउँदा सो क्षेत्रमा विभिन्न रोग फैलिएको उनको भनाइ छ ।

उक्त स्वास्थ्यचौकीका अहेब जोर फडेराले स्वास्थ्यचौकीमा बिरामी संख्या बढ्दै गएको बताउँदै सदरमुकामबाट केही मात्रामा पठाइएको औषधि वर्षाअगावै सकिएको र थप औषधि ढुवानी नभएको गुनासो गरे ।

जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकृत नरेशबाबु श्रेष्ठले भने सो क्षेत्रमा औषधि पठाइसकिएको बताएका छन् । रासस