११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


यूरोपको सुरक्षाका लागि संयुक्त यूरोपियन सेना निर्माण गर्न प्रस्ताव


0
Shares

काठमाडौं, भदौ ११ । यूरोपको सुरक्षाका लागि संयुक्त यूरोपियन सेनाको आवश्यकता औल्याइएको छ ।

चेक रिपब्लिक र हंगेरीले यस्तो व्यवस्थाका लागि पहल लिन जर्मन चान्सलर एञ्जेला मर्केलसँग आग्रह गरेको हो ।

जर्मन चान्सलरसँग वार्सामा छलफल गर्दै चेक र हंगेरीका नेताहरुले विभिन्न देशबाट मुस्लिम शरणार्थीलाई यूरोप भित्र्याउने निर्णयप्रति पनि गुनासो गरे ।

हंगेरीका प्रधानमन्त्री भिक्टोर अर्बानले सुरक्षा व्यवस्थालाई प्राथमिकता दिनैपर्ने भन्दै संयुक्त यूरोपियन सैनिकको व्यवस्थाका लागि काम थालौ भन्ने प्रस्ताव गरेका हुन् ।

उता बेलायतले भने नाटोको भूमिका र क्षेत्र न्यूनीकरण हुने खालको यस्ता कुनैपनि कदमको विपक्षमा रहने गरेको छ । चेक, हंगेरी, पोल्याण्ड र स्लोभाक नेताहरुले भने संयुक्त सुरक्षाका सम्बन्धमा प्रारम्भिक काम पनि थालेका छन् ।

चेक प्रधानमन्त्री बोहुस्लाभ सोबोत्काले यस्तो सेनाको निर्माण गर्नु सजिलो काम नभएपनि त्यसतर्फ अघि बढ्न छलफल थालिनुपर्ने बताए ।

संयुक्त रक्षा सक्षमताका लागि ईयूले १५ सयको समूह निर्माण गरेको भएपनि अहिलेसम्म त्यसको परीक्षण भने गरिएको छैन ।

गत वर्ष यूरोपियन आयोगका अध्यक्ष जीन जंकरले पनि ईयूलाई बलियो र रुसी चुनौति सामना गर्नपनि यूरोपियन सेना निर्माण गर्नुपर्ने धारणा राखेका थिए ।

यसैबीच ईयूबाट बेलायत बाहिरिएपछिको भविष्यबारे छलफल गर्न आगामी सेप्टेम्बर १६मा स्लोभाकियाले एउटा अनौपचारिक सम्मेलन आह्वान गरेको छ । (एजेन्सी)