
याङगोन (म्यानमार), भदौ ८ । म्यानमारमा बुधबार दिउँसो ६.८ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ ।
भूकम्पको केन्द्रबिन्दू म्यानमारको दक्षिणमा अवस्थित पर्यटकीय गन्तव्य प्राचीन सहर बगानबाट ३० किलोमिटर टाढा चाउकनजिकै रहेको र भूकम्प ८४ किलोमिटर गहिराइबाट गएको ‘युएसजीएस’ले बताएको छ ।
भूकम्पका कारण म्यानमारमा रहेका करिब दुई हजार ५०० प्राचीन एवं पूरातात्विक महत्वका मठ तथा मन्दिरमध्ये प्रायमा क्षति पुगेको बताइएको छ ।
भूकम्पको धक्का केही मिनेटसम्म भएको र यसबाट धेरै भवनहरुमा क्षति पुगेको अनुमान स्थानीयको भएको चाउकबाट म्यानमारको संसदमा प्रतिनिधित्व गरेका सांसद सो वीनले बताएका छन् ।
उक्त शक्तिशाली भूकम्पपछि ठूला पराकम्पहरु जाने डरमा प्रभावित क्षेत्रका स्थानीयबीच त्रासको वातावरण देखिएको पनि उनले बताए ।
भूकम्पको धक्का थाइल्यान्डको राजधानी बैंकक, भारतको कोलकाता, बंगलादेशलगायतका एसियाली मुलुकमा महसुस गरिएको बताइएको छ ।
भूकम्पको धक्का महसुस गरिएपछि भारतीय सहर कोलकातामा भूकम्पको समय घर तथा अफिसमा रहेका मानिस आतंकित बन्दै खुला स्थानतर्फ भागेका थिए ।
भूकम्पपछि आउनसक्ने पराकम्पनलाई मध्यनजर राख्दै भारतको भूमिगत् रेल सेवा केही समयका लागि स्थगित गरिएको कोलकाता मेट्रो रेलमार्ग सेवाका प्रवक्ता इन्द्रेनी बनर्जीले बताइन् ।
बंगलादेशको राजधानी ढाका र वरपरका क्षेत्रमा भूकम्पको समय त्रसित स्थानीयबीच भागदौड हुँदा कम्तिमा २० जना घाइते भएका बंगलादेशबाट प्राप्त खबरमा जनाइएको छ । रासस/एएफपी
प्रतिक्रिया दिनुहोस्