५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


पूर्व मुमाबडामहारानी रत्नलाई जन्मदिनमा सरकारले दियो उपहार !


0
Shares

काठमाडौं, भदौ ६ । विद्युत प्राधिकरणले उर्जामन्त्री जनार्दन शर्माको निर्देशनमा पूर्व मुमाबडामहारानी रत्नराज्यलक्ष्मी देवी शाहको निवास महेन्द्र मञ्जिलको विद्युत लाइन बक्यौता नतिरेको भन्दै काटेको छ ।

रत्नको ८९ औं जन्मदिनको भोलिपल्ट सरकारले लाइन काटेर उनलाई अन्धकार उपहार दिएको छ । शनिबार उनको जन्मदिन थियो ।

पूर्व मुमाबडामहारानीको निवासको बिजुली बक्यौता लामो समयदेखि नतिरिएको र ३७ लाख ३९ हजार रुपैयाँ पुगेपछि नियमित प्रक्रिया अन्तर्गत लाइन काटिएको प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले बताए । राज्यले ज्येष्ठ नागरिकको सम्मानमा विभिन्न सुविधा दिइरहेको बेला ८८ वर्षीया रत्नको निवासमा लाइन काट्नु मानवीय हिसाबले कत्तिको जायज हो भन्ने प्रश्नमा कार्यकारी निर्देशक काफ्लेले भने, ‘सम्बन्धित निकायबाट अनुरोध भइ आएमा काटिएको लाइनको पुनर्विचार गर्न सकिन्छ ।’

नारायणहिटी दरबार परिसरमा रहेको महेन्द्र मञ्जिल सरकारको स्वामित्वमा छ । मन्त्रिपरिषदले निर्णय गरेर पूर्व मुमाबडामहारानीलाई त्यहाँ बस्ने व्यवस्था गरेको र त्यो कुनै मन्त्रालयको मातहत नभएको नेपाल ट्रस्टका प्रमुख भीम उपाध्यायले बताए ।

‘महेन्द्र मञ्जिल नेपाल ट्रस्टको स्वामित्वमा आएको छैन,’ उनले भने, ‘मन्त्रिपरिषदको निर्णयबाट सरकारले पूर्व राजपरिवारलाई निवास दिएपछि बिजुली महसुललगायत सरकारले तिरिदिनु पर्छ ।’ –अन्नपूर्ण पोस्ट दैनिकबाट