
पर्सा, भदौ २ । नाबालिका छोरीलाई हत्या गरेको आरोपमा पर्सा प्रहरीले विहीबार बिहान बाबुलाई नै पक्राउ गरेको छ ।
पर्साको महादेवपट्टी –३ निवासी शिव मुखिया बिनलाई आफ्नै १४ वर्षीया छोरी प्रभाकुमारी मुखिया बिनलाई हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
छोरीको हत्या गरी शिव मुखिया भाग्न लागेको गोप्य सूचनाको आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले बताए ।
पिता शिव मुखियालाई नियन्त्रणमा लिइ सोधपुछ गर्दा उनले दिएको जानकारीको आधारमा महादेवपट्टी गाविसस्थित नेपाल–भारतबीचको दशगजा क्षेत्रबाट प्रहरीले प्रभाको शव बरामद गरिएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।
प्रभा कुमारीको शवलाई मुचुल्का गरी सदरमुकाम वीरगन्ज ल्याउने तयारी भएको उपरीक्षक श्रेष्ठले जानकारी दिए ।
प्रभाको हत्या के–कति कारणले भएको हो ? सोबारे हालसम्म केही नखुलेको उपरीक्षक श्रेष्ठले बताए ।
प्रभाको हत्या बुधबार राति भएको हुनसक्ने प्रारभिक अनुसन्धानबाट देखिएको पनि उपरीक्षक श्रेष्ठले राससलाई बताए ।
घटनापछि शिव मुखिया बिनको परिवारका अरु सबै सदस्य फरार रहेको प्रहरीले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्