
पोखरा, भदौ २ । एकछिनको बोलीचाली र सुन्दर देख्दैमा विवाह गरिहाल्ने प्रवृत्ति गलत हुँदोरहेछ भन्ने शुक्रबार अपराह्न पोखराको चालिसेचोकमा भएको वीभत्स हत्याले पुष्टि गरेको छ ।
पाँच वर्षअघि छिनभरको भेटघाटमै स्याङ्जाको किचनाश गाविस–३ का २२ वर्षीय सञ्जीवबहादुर नेपाली र स्याङ्जाकै पौवेगौडे गाविस–२ की सोनम रेग्मीबीच अन्तर्जातीय विवाह भएको थियो ।
‘तल्लो जाति’सँग विवाह गरेको भन्दै केटीपक्षका अभिभावक असन्तुष्ट बने । उनीहरुले छोरीलाईसमेत वास्ता गर्न छोडे ।
आफ्ना माइतीपक्षबाट टाढिँदै गएपछि सोनम र सञ्जीवबीचको सम्बन्धमा पनि खटपट सुरु भएको उनीहरुलाई चिन्ने नजिककाले बताउँछन् । सोनम सम्बन्धविच्छेद गर्न चाहन्थिन् भने सञ्जीव त्यसको विरोधमा थिए ।
सोनमको बलजोडले अदालतमा सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेपछि दुबै छुट्टाछुट्टै बस्दै आएका थिए । उनीहरुको मुद्दा विचाराधीन छ ।
केही महिनाअघि वैदेशिक रोजगारीमा विदेश गएका सञ्जीव दुई महिना नपुग्दै घर फर्केका थिए ।
सोनम चालिसेचोकको एक घरमा डेरा लिएर बसेको पत्ता लगाइ सञ्जीव धारिलो चक्कुसहित ढोकाबाहिर पुगेका थिए । उनले कोठाबाट आँगनमा निस्केकी सोनमलाई चक्कुले पेट र घाँटीमा प्रहार गरे ।
धारिलो हतियारको प्रहारबाट सोनमको घटनास्थलमै मृत्यु भएको थियो । उनले पनि गोजीबाट विष निकालेर सेवन गरेको र सख्त घाइते भएपछि गन्डकी मेडिकल कलेजमा उपचारार्थ लगिएकामा उपचार गर्दागर्दै उनको पनि मृत्यु भएको थियो ।
विष सेवन गरी आत्महत्या गरेका सञ्जीवको गोजीमा एउटा चिठ्ठी पनि फेलापर्यो । चिठीमा ‘तँलाई पनि बाँच्न दिन्न, म पनि बाँच्दिनँ’ लेखिएको प्रहरीले जनाएको छ ।
अहिले मृतकका आफन्तलाई पोखरा बोलाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्की प्रहरी प्रवक्ता गजुसिद्धि बज्राचार्यले जानकारी दिए ।
दुबैको शव परीक्षणका लागि अहिले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको छ । रासस
प्रतिक्रिया दिनुहोस्