
काठमाडौं, साउन ३१ । विश्वमा कयौं खतरनाक सडक छन्, जहाँ दुर्घटना दर निकै बढी पाइन्छ । भौगोलिक विकटताका कारण त्यस्ता सडकको यात्रा निकै जोखिमपूर्ण भएर पनि त्यहाँका बासिन्दाले दैनिक जीवनको अङ्गका रुपमा यात्रा गर्दै आएका छन् । विभिन्न अन्तर्राष्ट्रिय संचारमाध्यमले तयार पारेका सामाग्रीलाई आधार बनाएर यहाँ विश्वका १० खतरनाक सडकको चर्चा गरिएको छ ।
युन्गास रोड
बोलिभियाको उत्तर युन्गास रोड करिब ६४ किलोमिटर लामो छ । यो सडक कच्ची हुनका साथै चिप्लो पनि छ । त्यसैले कयौं सवारी साधन चिप्लिएर भीरमा खस्ने गर्दछन् । साँघुरो भएका कारण दोहोरो सवारी आवागमनमा समेत समस्या हुने गरेको छ । यो सडकलाई ‘दि रोड अफ डेथ’ का नामले समेत चिनिन्छ । यो सडकमा औसत प्रत्येक वर्ष करिब तीन सय जनाको मृत्यु हुने गर्दछ ।
जलालावाद–काबुल
अफगानिस्तानको जलालावाद र काबुल जोड्ने यो सडकको यात्रा निकै जोखिमपूर्ण मानिन्छ । ६५ किलोमिटर लामो यो सडक पहाडी क्षेत्रमा पर्दछ । तालिवान प्रभावित क्षेत्रमा भए पनि तालिवानका कारण नभई भौगोलिक विकटताका कारण यो सडक खतरनाक सूचीमा रहेको हो ।
जेम्स डाल्टन हाइवे
अलास्काको जेम्स डाल्टन हाइवे विश्वका खतरनाक सडकमध्ये एक हो । ६६७ किलोमिटर लामो यो सडक खाडी क्षेत्रमा तेल आपूर्ति मार्गका रुपमा प्रशिद्ध छ । त्यसैले यो सडकमा गुड्ने अधिकांश साधनमा ट्यांकर, ट्रली देखिन्छन् । हेर्दा शान्तजस्तो देखिने यो सडकमा चट्टान, तीब्र हावा र खाडलजस्ता कारणले सवारी दुर्घटनाको जोखिम बढाएको छ ।
काराकुरम हाइवे
पाकिस्तानको यो सडकलाई ‘मैत्रीपूर्ण राजमार्ग’ पनि भनिन्छ । चीन र पाकिस्तानलाई जोड्ने यो सडक ४ हजार ६ सय मिटरभन्दा बढी उचाइमा रहेको छ । पहिरोका कारण यो सडक निकै खतरनाक मानिन्छ । ठूला चट्टान फोरेर बनाइएको साँघुरो सडक जोखिपूर्ण भए पनि पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै आएको छ ।
कमनवेल्थ एभेन्यु
फिलिपिन्सको कमनवेल्थ एभेन्यु सडकको नाम पूर्व राष्ट्रपति फर्डिनेन्ड मार्कोसका पिता मारियानो मार्कोस एभेन्युको नाममा राखिएको हो । यो सडक सन् १९६० मा बनाइएको हो । १२ किलोमिटर लामो यो सडकले देशको राजधानीलाई जोडेको छ । सवारी चापका कारण यो सडक दुर्घटनाका दृष्टिले निकै जोखिमपूर्ण मानिन्छ ।
बीआर–११६
ब्राजिलको बीआर–११६ सडकलाई पनि खतरनाकको सूचीमा राखिएको छ । यो सडकमा वर्षेनि दुर्घटनादर बढ्दो छ । अव्यवस्थित यातायात व्यवस्थाका कारण यहाँ दुर्घटना दर बढेको हो ।
जोजी ला पास
लद्दाख र कश्मिरलाई जोड्ने यो सडक भारतमा पर्दछ । समुद्री सतहबाट ३ हजार पाँच सय ३८ मिटर उचाईमा रहेको यो सडक निकै साँघुरो छ । वर्षाको समयमा यो सडक हिलाम्य हुने गर्दछ । त्यसैगरी हिमपात हुने समयमा पनि यो सडक बन्द हुने गर्दछ ।
गुओलिङ्ग टनल
चीनको हेनान प्रान्तमा रहेको यो सडक १.२ किलोमिटर लामो छ । चट्टान खोपेर सुरुङ बनाइएको यो सडक ४ मिटर चौडा छ । यो सडकमा चालकको सानो लापरवाहीले ठूलो दुर्घटना निम्त्याउन सक्छ ।
लस काराकोलेस पास
चिली र अर्जेन्टिनालाई सडकमार्गबाट जोड्ने यो राजमार्गमा भयानक हिमपात हुने गर्दछ । कयौं घुम्ती पार गर्दै हिँड्नु पर्ने भएकाले चालकको सानो लापरवाही पनि यो सडकमा ठूलो दुर्घटनाको कारक बन्न सक्छ । यो सडकमा विशाल मालवाहक सवारी साधन र यात्री बसको ताँती नै लाग्छ ।
सिचुवान–तिब्बत हाइवे
चीनको चेङ्गदु र तिब्बतलाई जोड्ने यो सडक पनि जोखिमपूर्ण सडकको सूचीमा पर्दछ । पहाडी भौगोलिक विकटताका बाबजुद सडक संजाल बनाइएको भए पनि प्राकृतिक रुपमा हुने प्रकोपले सडकको स्तर निकै खस्किएको छ । बाढी, पहिरो र सडकको जीर्ण अवस्थाका कारण यो सडकमा दुर्घटना दर निकै बढी छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्