
नयाँदिल्ली, साउन २७ । भारतको एक अस्पतालमा उपचारका लागि स्टाफ नर्सले घुस मागेपछि उपचारमा ढिलाइ हुँदा एकजना १० महिने शिशुको ज्यान गएको परिवारले जनाइएको छ ।
भारतीय ती शिशुका परिवारका सदस्यले उपचारका लागि सरकारी अस्पतालमा लगिएको तर उपचारकाक्रममा कागजात अघि बढाउन सोही अस्पतालकी नर्सले घुस मागेकाले उनको उपचार हुन नसकी ज्यान गएको बताएका छन् ।
शिशु बिरामी भएपछि एक सरकारी अस्पतालमा लगिएको र त्यस अस्पतालका स्टाफ नर्सले उपचारका लागि आवश्यक कागजात चाँडो पेस गर्नका लागि घुस मागेको र उपचार ढिला हुन पुग्दा ती शिशुको ज्यान गएको बताइएको छ ।
उत्तर प्रदेशको एक सरकारी अस्पतालमा गएको शनिबार उपचारका लागि लगिएका सुमिता र शिव दत्तको १० महिने शिशुको उपचारमा तिनै स्टाफ नर्सले घुस मागेपछि उपचार ढिला भएको उनीहरुको दाबी छ ।
उत्तर प्रदेशको बहराइच अस्पतालमा लगिएका ती शिशुलाई भर्नाका लागि अस्पतालमा शैया मिलाउन पनि प्रशासनका एकजना कर्मचारीले घुस मागेका ती शिशुका बाबुले जनाएका छन् ।
शिशुलाई भर्ना गरिसकिएपछि पनि चिकित्सक मिलाउने कामका लागि भन्दै उनीहरुले घुस मागेका थिए । उनीहरुलाई नै पैसा दिनका लागि पैसा खोज्न ती शिशुकी आमा बाहिर जानुपरेको थियो ।
आफूले ती नर्सलाई मागेको पैसा दिने भन्दै उपचार राम्रोसँग गर्न बारम्बार आग्रह गरेको तर पैसा सुरुमै चाहिने भनेपछि आफू पैसाको जोहो गर्न बाहिर हिँड्नुपरेकोले बच्चाको हेरचाह पनि अस्पतालले राम्रोसँग नगरिदिएको मृतक बच्चाकी आमाले भारतीय ‘एन्डिटीभी’लाई बताएकी छन् ।
ती मृतक शिशुका बाबुले आफूले हरेकपटक घुस माग्ने अस्पतालका कर्मचारीहरुको सामना गर्नुपरेको बताएका छन् ।
त्यस अस्पतालमा हरेक बिरामीसँग अस्पतालका कर्मचारीले घुस माग्ने गरेको र यदि घुस नदिएमा उनीहरुले बिरामीको उपचारको प्रक्रिया नै अघि नबढाइदिने गरेको शिव दत्तले जनाए ।
अस्पतालले सो विषयमा अनुसन्धानका लागि समिति गठन गरेको छ र अहिलेसम्ममा कुनैपनि तथ्य बाहिर आउन सकेको छैन ।
तर, अस्पतालले भने ती मृतक शिशुका बाबु–आमाले भनेजस्तो हरेकपटक घुस माग्ने गरेको भन्ने भनाइको भने खन्डन गरेको छ । रासस/एएफपी
प्रतिक्रिया दिनुहोस्