
काठमाडौं, साउन २६ । ६ करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको ३ किलो ५४ दशमलव ५ ग्राम कोकिनसहित एकजना बोलिभियन र एकजना थाइ महिलालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरोले थाइ नागरिक वारन्या काउपिकुललाई मंगलबार राति थाइल्यान्ड जान लागेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कोकिनसहित पक्राउ गरेको हो ।
उनले सुटकेशमा फल्सबटम बनाइ कोकिन थाइल्यान्ड लैजान लागेको प्रहरीले जनाएको छ ।
काउपिकुलको बयानको आधारमा प्रहरीले बोलिभियन महिला रोसी गुडितोलेडो भालिजोसलाई बुधबार बिहान नक्सालबाट पक्राउ गरेको हो ।
बोलेभियन नागरिक रोसीले कोकिन नेपाल ल्याएको र थाइल्यान्ड हुँदै कोकिन युरोपेलीमुलुक लैजान थाइ महिला काउपिकुल नेपाल आएको खुलासा भएको पनि प्रहरीले जनाएको छ ।
उक्त कोकिन बोलिभियाबाट ब्राजिल, इथियोपिया, भारत हुँदै नेपाल भित्र्याइएको जनाइएको छ ।
त्यस्तै, थाइल्यान्डबाट मलेसिया पुर्याउने र पुनः नेपाल हुँदै दुबई पठाउने योजना रहेको पनि प्रहरीले बताएको छ ।
पछिल्लो समय दक्षिण अमेरिकीमुलुकबाट लागूपदार्थ नेपाल ल्याउने र नेपालबाट अन्यत्र लैजानेक्रम बढ्दै गएको छ ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्