६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


सरकारसँग आश मारेका महावीर पुनको यस्तो छ योजना


0
Shares

सन्जिब बगाले-
काठमाडौं, साउन २६ । राष्ट्रिय आविस्कार केन्द्र स्थापनाका लागि अभियान संचालन गर्दै आएका महावीर पुनले अब सरकारको आश गर्न छोडेका छन् । उनले आफ्नै प्रयासबाट आविस्कार केन्द्र स्थापना गराइछोड्ने अठोटसमेत गरेका छन् । ‘४ बर्षसम्म मैले सरकारको बाटो हेरेँ, सरकारको दैलो चहारेँ, मेरो चार बर्ष सरकारको चाकडी गर्नमै बिते तर अब म सरकारको आश गर्दिनँ,’ उनले भने ।

के हो राष्ट्रिय अनुसन्धान केन्द्र ?

समाजसेवी पुनका अनुसार राष्ट्रिय आविस्कार केन्द्र कुनै विश्वविद्यालयजस्तो होइन, नत यो आविस्कार केन्द्रजस्तो नै हो । यो त आर्थिक विकासका बारेमा छलफल गर्ने थलो हो । यो केन्द्रमा आएर आफ्ना विकास निर्माणका भिजनहरु पढेका/नपढेका सबैले दिन सक्छन् र उपुयक्त विचारलाई अघि बढाउन आविस्कार केन्द्रले सहयोग गर्छ ।

चाहे कृषिका होस्, चाहे पशुपालनका होस् वा अन्य विकास निर्माणका विषय किन नहोस् । जुनसुकै विषयमा जो सुकैले आएर पनि आफ्नो भिजन दिन सक्छ । अर्को अर्थमा भन्ने हो भने यो एउटा भिजन केन्द्र हो । केन्द्रमा आएका आइडियाहरुलाई कार्यान्वयनमा ल्याउनका लागि प्रयास गर्नु यसको प्रमुख उद्देश्य रहने पुनको भनाइ छ ।
किन चाहियो आविस्कार केन्द्र ?

‘विकासका दृष्टिकोणले नेपाल अति पछाडी परेको छ । अब धेरै ढिलो पनि भइसकेको छ तर हिम्मत हारेरमात्रै हुँदैन,’ पुन भन्छन् ‘यसका लागि अठोट चाहिन्छ । अबको विकास विज्ञान प्रविधिविना सम्भव पनि छैन ।’

पुनका अनुसार विज्ञान प्रविधिको प्रयोग गरेर उत्पादनमा बृद्धि गर्नु नै आर्थिक विकासको एउटा महत्वपूर्ण उपाय हो । यसका लागि आविस्कार केन्द्र जरुरी रहेको पुन बताउँछन् ।

आविस्कार केन्द्र स्थापना र सञ्चालनका लागि हाइड्रो

राष्ट्रिय आविस्कार केन्द्र सञ्चालनका लागि नियमित रुपपा लगानी गर्नुपर्छ । त्यसका लागि नियमित आयश्रोत पनि चाहियो । पुनले परिकल्पना गरेकोे आविस्कार केन्द्र सन्चालनका लागि वार्षिक रुपमा कम्तीमा पनि ३० करोड रुपैयाँ लगानी गर्नुपर्छ । यो आम्दानीको श्रोतका लागि १० मेगावाटको हाइड्रो निर्माण गर्नुपर्ने पुनको योजना छ । त्यसका लागि तत्काल ५० करोड रुपैयाँ आवश्यक पर्छ । यति भयो भने बैंकबाट ऋण लिन सकिन्छ । १० मेगावाटको हाइड्रोले वर्षमा झण्डै ३० देखि ४० करोड रुपैयाँ कमाउनसक्ने पुनको ठहर छ ।

अब कसरी संकलन गर्ने त ५० करोड रुपैयाँ ?

तत्काल ५० करोड रुपैयाँ जरुरी पर्ने भएपछि आफुले सकेको आर्थिक सहयोग गर्न पुनले सर्वसाधरणमा अपिल गरका छन् । पुनका अनुसार एभरेष्ट र हिमालयन बैंकमा राष्ट्रिय आविस्कार केन्द्रको नाममा खोलिएको खातामा रकम जम्मा गर्न सकिन्छ । आफुले सकेको जति पनि सहयोग गर्न सकिने उनले बताए । उनले सर्वसाधारणलाई स्वेच्छिक सहयोगका लागि गुहारेका छन् ।

सहयोगका लागि सर्वसाधारणलाई गुहार्नुअघि पुनले आफ्नो नाममा भएको कसरब ३ करोड मूल्यको २८ रोपनी जग्गा राष्ट्रिय आविस्कार केन्द्रका लागि दान गरेका छन् ।

(कुराकानीमा आधारित)