१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


विश्वले चिनेकी कान्छी गौरिका


0
Shares

दीपेन्द्र सापकोटा (रासस)

काठमाडौं, साउन २५ । आइतबार राति ब्राजिलको रियो द जेनेरियोको एउटा पौडी पोखरीमा एउटा देश र खेलाडीको नाम बारम्बार लिइयो । खेलकाक्रममा उद्घोषकले नाम लिएको त्यो देशको नाम नेपाल र ती खेलाडीको नाम थियो गौरिका सिंह ।

त्यसरी नाम लिनाको कारण उनले स्वर्णपदक जितेकाले पक्कै होइन । सय मिटर ब्याकस्ट्रोकको उक्त स्पर्धामा नेपालकी गौरिकासँगै अरु ३४ देशका खेलाडीले भाग लिएका थिए । तर, त्यहाँ उनी ३१औं स्थानमा रहन पुगिन् ।

पहिलो चरणबाटै बाहिरिएकी उनीभन्दा तल सामाओ, कोसोभो र केन्याका खेलाडीमात्र रहेका थिए ।

वास्तवमा त्यहाँ गौरिकाको नाम बारम्बार आउनाको कारण यस्तो थियो, उनी प्रतियोगिताकै सबभन्दा कान्छी खेलाडी थिइन् ।

२०६ देशका ११ हजारभन्दा बढी खेलाडी सम्मिलित ‘रियो ओलम्पिक’मा सबभन्दा कम उमेरकी खेलाडी भएपछि उनको चर्चा चुलिएको छ । अहिले उनी विश्व चर्चित सन्चारमाध्यमको खोजीको विषय हुन पुगेकी छन् ।

भर्खर १३ वर्षीया गौरिकासँग गत बिहीबार फ्रान्सेली समाचार संस्था ‘एएफपी’ले लामो कुराकानी गरेको थियो ।

सोक्रममा उनले भनेकी थिइन्–‘मैले कुनै दिन ओलम्पिक खेल्दैछु भनेर सोचेकी भने थिइनँ । मैले धेरै सानो उमेरदेखि पौडी खेल्न सुरु गरेकी थिएँ तर यसले मलाई यहाँसम्म पुर्‍याउनेछ भनेर विश्वास भने थिएन ।’

कान्छी खेलाडी हुनाको राजबारे उनको तर्क यस्तो छ–‘मैले यसबारे खासै सोचेकी भने छैन । अरु सबै खेलाडी जस्तै म यहाँ खेल्न आएकी हुँ । त्यसैले अरुभन्दा म धेरै फरक छैन ।’

यीबाहेक ‘द गार्डियन’, ‘एपी’, ‘रोयटर्स’लगायत प्रमुख सन्चारमाध्यमलेसमेत उनलाई प्राथमिकतामा राखेर समाचार बनाएका छन् ।

आइतबार प्रतिस्पर्धाकैक्रममा गौरिकाले आफ्नो ‘स्विमसुट’ च्यातिएका कारण पौडन अप्ठ्यारो परेको बताएकी थिइन् । यस कुरालाई ब्राजिलसँगै विश्वभरका सन्चारमाध्यमले प्राथमिकताका साथ ‘हाइलाइट्स’ गरे ।

गौरिका २ वर्षको हुँदादेखि नै आफ्ना बुबासँगै बेलायतको लन्डन बस्न थालेकी हुन् । त्यहाँको बर्नेट कप्टहल क्लबबाट खेल्दै आएकी उनी आफ्नो उमेर समूहमा बेलायतका २० पौडीबाजमा पर्छिन् ।

गौरिका ४ वर्षदेखि लन्डनमै रहेर ओलम्पिकको तयारीमा व्यस्त थिइन् ।

करिब ६ महिनाअघि भारतमा सम्पन्न १२औं दक्षिण एसियाली खेलकुद (साग)मा एक रजत र तीन कास्यपदक जितेकी उनले नेपाली पौडीमा तीनपल्ट राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् ।

जारी ओलम्पिकबाट बाहिरिएपनि उनले ‘हिट वान’ चरणमा पहिलो स्थान हासिल गरिन् ।

उक्त एक मिटर ब्याकस्ट्रोक उनले १ मिनेट ८ दशमलव ४५ सेकेन्डमा पूरा गरेकी थिइन् । उनी आफ्नो राष्ट्रिय कीर्तिमान तोड्न १ दशमलव १४ सेकेन्डले चुकिन् । यो अपेक्षाविपरीत भएपनि नेपाली ओलम्पिकका लागि भने कीर्तिमान नै हो ।

हालसम्म नेपाली पुरुष पौडीबाजलेसमेत यो स्पर्धा १ मिनेट १२ सेकेन्डमामात्र पूरा गर्न सकेका छन् ।

यता, घरेलु देश नेपालमा झन् गौरिकाको चर्चा चुलिएको छ । नेता, अभिनेता, खेलाडी, व्यवसायीलगायत सबै क्षेत्रका मानिसले उनीलाई सामाजिक सन्जालमार्फत् बधाइ दिएका छन् ।

उनीहरुको सार यस्तो छ–‘गौरिकाले हारेर पनि जितेकी छन् ।’