
बेल्जियम, साउन २४ । बेल्जियमको लुभेन सेन्टरमा बेल्जियमका विभिन्न पिस मुभमेन्टहरुको आयोजना र सहभागितामा ७१ औं हिरोशिमा मेमोरियल दिवस मनाइएको छ ।
क्याथोलिक पिस मुभमेन्ट पाक्स क्रिस्टी फ्लान्दर्स, इन्टल ग्लोबल सोलिडारिटी, बेल्जियम, लुम्बिनी–कपिलवस्तु ग्लोबल क्याम्पेन, बेल्जियम र अन्तर्राष्ट्रिय फेमिनिस्ट पिस मोभमेन्ट अन्तर्गतको वोमेन इन ब्लैक, लुभेनले कार्यक्रममा सहभागिता जनाएका थिए ।
दोस्रो विश्व युद्धको अन्त्यतिर, ६ अगस्ट १९४५ का दिन अमेरिकाले जापानको हिरोशिमा र त्यसको ३ दिनपछि ९ अगष्टका दिन नागासाकीमा एटम बम खसालेको थियो । दुर्इ स्थानमा खसालेको एटम बमका कारण कम्तिमा १ लाख २९ हजार मानिसहरु मारिएका थिए ।
त्यस आक्रमणको विरोधमा र त्यस अमानवीय आक्रमणमा मारिएका मानिसहरुको सम्झनामा बेल्जियममा आयोजित स्मृति दिवस कार्यक्रम दुर्इ भागमा विभाजित गरिएको थियो ।
पहिलो चरणमा रेक्टर दि सोमेरप्लैनमा न्युक्लियर र केमिकल वेपोन (हातहतियार) विनाको विश्व आवश्यक छ भन्ने सन्देशसहितको ज्ञापनपत्र बेल्जियमका प्रधानमन्त्री चार्ल्स मिखेललाई बुझाउनको लागि हस्ताक्षर संकलन गरिएको थियो । उक्त कार्यक्रममा लुम्बिनी–कपिलवस्तु ग्लोबल क्याम्पेन, बेल्जियमका तर्फबाट अध्यक्ष दामोदरप्रसाद आचार्य, महासचिव नन्द राज घले, कार्यकारी सदस्य दुर्गा भट्टाराई, सल्लाहकार बाबुराजा लामा र गैर आवासीय नेपाली संघ, बेल्जियमका तर्फबाट संघको कोषाध्यक्ष आङ्गमाया लामाले हस्ताक्षर गरेका थिए ।
दोस्रो चरणको अन्तरक्रिया कार्यक्रम लुभेन नगरस्थित दामियान सेन्टरको सभाकक्षमा आयोजना गरिएको थियो ।
सो अवसरमा एकांकी नाटक, बृत्तचित्र प्रदर्शनी लगायतका कार्यक्रम आयोजना गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्