
काठमाडौं, साउन २२ । रियो ओलम्पिकको ब्राजिलको रियो दि जेनेरियो शहरमा रहेको माराकाना रंगशालामा भव्यताका साथ उदघाटन भएको छ ।
रियो अन्तर्गत फुटबलका खेल दुई दिन अघिदेखि नै सुरु भएपनि विश्व खेलकुदको महाकुम्भ मेला ओलम्पिकको औपचारिक उदघाटन समारोह भने नेपाली समय अनुसार आज बिहान सुरु भएको हो ।
यसक्रममा दुई सय ६ देश र एउटा शरणार्थी टिमका खेलाडीले विभिन्न २८ खेलका स्पर्धामा पदकका लागि प्रतिस्पर्धा गर्ने छन् ।
ओलम्पिक सुरु हुनु पूर्व रुसको डोपिङ, जिका भाइरसको संक्रमण तथा आयोजना स्थललको सुरक्षा तथा भौतिक पूर्वाधारको निर्माणको विषयले विवाद भएको थियो । तर अन्ततः ब्राजिलमा रियो ओलम्पिक सुरु भएको छ ।
दक्षिण अमेरिकामा पहिलो पटक हुन लागेको रियो ओलम्पिकका खेल चार ठाउँमा हुनेछन् । डियोडोरु, बारा, कोपाकबाना र माराकाना रंगशालामा ओलम्पिकका खेल हुनेछन् । यस ओलम्पिकमा भाग लिएको शरणार्थी टिममा १० खेलाडी छन् ।
जसमा दक्षिणी सुडानका पाँच, सिरियाका दुई, कंगोका दुई तथा इथियोपियाका एक खेलाडी छन् । यो टिमले ओलम्पिक झण्डाअन्तर्गत भाग लिनेछ । यो ओलम्पिकमा एक सय १२ वर्ष पछि गल्फको पुनरागमन भएको छ ।
भन्नलाई यो ३१ औं ओलम्पियाड भनिएपनि २८ औं आयोजना हो । सन् १९१६, १९४० र १९४४ मा विश्व युद्धका कारण खेल हुन सकेको थिएन । पाँच सय ५४ जना खेलाडीसहित भाग लिएको अमेरिका सबै भन्दा ठूलो टिम हो ।
यो ओलम्पिकमा विश्वभरका १० हजार पाँच सय खेलाडी सहभागी हुँदैछन् । सन् २००० पछि जन्मिएका खेलाडीले यो ओलम्पिकबाट सहभागिता जनाउँदै छन् ।
नेपालकी १३ वर्षकी पौडी खेलाडी गौरिका सिंह रियो ओलम्पिकमा भाग लिने सबैभन्दा कम उमेरकी खेलाडी हुन् । रियोमा नेपालबाट पाँच खेलमा सात खेलाडीले भाग लिंदैछन् । यसअघि हिजो भएको पहिलो खेलमा नेपालका आर्चरीका जितबहादुर मोक्तानले भाग लिएका थिए ।
प्रतिक्रिया दिनुहोस्