
काठमाडौं, वैशाख ५ । नेपाल टेलिकमले एक वर्षभित्र फोरजी सेवा विस्तार गरी फाइभजीको पनि परीक्षण गर्ने भएको छ ।
टेलिकमले बिहीबार पत्रकारहरुसँग गरेको छलफल कार्यक्रममा अत्याधुनिक प्रविधिसहितको फोरजीलगायतका सेवा विस्तारका क्षेत्रमा भएका कार्यक्रमहरुबारे जानकारी गराएको हो ।
टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले फोरजी सेवाका लागि उपकरणमात्र नभइ पूर्वाधार विकासका कामहरु पनि गरिरहेकाले सेवा विस्तार गर्नका लागि समय लागेको बताए ।
टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले देशभर सातै प्रदेशमा सेवा विस्तारका लागि गत माघ २० मा नै टेलिकमले तीनओटा सम्झौता सम्पन्न गरिसकेको जानकारी दिइन् ।
मोबाइल सेवा विस्तार का लागि चालू आर्थिक वर्षको चैत मसान्तसम्म ४०० ओटा थ्रीजी बीटीएसहरुको स्तरोन्नति गरिएको कम्पनीले जनाएको छ ।
त्यसैगरी, यस अवधिमा ४०७ ओटा बीटीएस थप गरिएको पनि जनाइएको छ ।
एक करोड लाइन मोबाइल आयोजनाअन्तर्गत् ग्राहकको माग एवं प्राविधिक अध्ययनअनुसार आवश्यक देखिएका स्थानहरुमा मोबाइल टावर थप गर्ने कार्य जारी रहेको पनि जनाइएको छ ।
मध्य पहाडी लोकमार्गअन्तर्गत् प्रदेश नम्बर–१, २ र ३ मा पर्ने स्थानमा अप्टिकल फाइबर बिच्छ्याउने कार्यको जिम्मेवारी नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई दिएको छ । सो आयोजनाका लागि पाँचमध्ये चारओटा सम्झौता सम्पन्न भइसकेको जनाइएको छ ।
हाल एडीएसएलमार्फत् इन्टरनेट सुविधा उपलब्ध गराइरहेकोमा फाइबरमा रुपान्तरण गर्ने र इन्टरनेटको साथसाथै आइपीटीभी पनि प्रदान गर्ने लक्ष्यका साथ गृहकार्य भइरहेको पनि कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्