
नयाँ दिल्ली, साउन २१ । भारतका गृहमन्त्री राजनाथ सिंहले पाकिस्तान भ्रमणमा आफूलाई अपमान गरिएको बताएका छन् । सार्क गृहमन्त्रीस्तरीय बैठकमा सहभागी भएर भारत फर्किएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
भारतीय संचारमाध्यमका अनुसार सिंहले संसद बैठकमा पाकिस्तान भ्रमणको विषयमा जानकारी गराउने छन् ।
इस्लामावादमा आयोजित सार्क गृहमन्त्रीस्तरीय बैठकमा आफूले गरेको सम्बोधनलाई पाकिस्तानले नियतवस प्रशारणमा रोक लगाएको भारतीय गृहमन्त्री सिंहको आरोप छ । भारतीय संचारमाध्यमका अनुसार राजनाथ सिंहले बैठकलाई सम्बोधन गर्दा मिडियालाई बैठक कक्षमा प्रवेश दिइएको थिएन ।
पाकिस्तानका गृहमन्त्री चौधरी निसारले राजनाथ सिंहलाई दिवाभोजका लागि आमन्त्रण गरेका थिए । तर सिंह दिवाभोजका लागि जानुअघि नै पाकिस्तानी गृहमन्त्री बाहिरिएको बताइन्छ । उक्त सूचना पाएपछि सिंह पनि दिवाभोज स्थलमा नगई होटलमा फर्किएर खाना खाएको भारतीय संचारमाध्यमले जनाएका छन् ।
राजनाथ सिंहको भ्रमणको विरोधमा इस्लामावादमा हाफिज सईदको नेतृत्वमा रहेको जमात उद दावा नामक संगठनले प्रदर्शन गरेको थियो । सईदलाई भारतले मुम्बई हमलाका लागि जिम्मेवार मान्दै आएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्