
‘बा…. बा… कलाकारिता पनि आजभोलि त कस्तो कस्तो ? कहिले टाउकोले टेकेको छ, कहिले हत्केलाको भरमा उफ्रेको छ, कहिले कम्मर नै भाँचिएला जस्तो …. हेर्दै डर लाग्ने .. यति धेरै त नगरे हुन्थ्यो नि जस्तो लाग्ने ।’
चर्चित कलाकार मदनकृष्ण श्रेष्ठले भदौ २५ गते आयोजित पल्सर स्पोर्ट्स अवार्ड कार्यक्रममा विजेतालाई पुरस्कार प्रदान गर्नु अगाडि बोलेका वाक्यहरु हुन् यी । केहिवेर अगाडि त्यही कार्यक्रममा हेरेको बि-बोईङ डान्स सम्झिदै थिए अभिनेता श्रेष्ठ ।
हुन पनि हो, हेर्दा रमाईलो तर विश्वासै गर्न नसकिने, अझ भनौं अपत्यारिलो वास्तविकताको एउटा उदाहरण …. बी – बोईङ । जसलाई ब्रेकिङ, अर्थात ब्रेक डान्सिङ पनि भन्ने गरिन्छ । शुरुका दिनमा हिप हप डान्सको नामले चिनिने नृत्यको यो आधुनिक रुप विश्वभर नै आजभोलि निकै लोकप्रिय छ ।
सन् १९६९ मा जेम्स ब्राउनले आफ्नो गीत गेट अन द गुड फुटमा तत्कालीन शैलीभन्दा निकै फरक नृत्य प्रस्तुत गरे, जुन नृत्य पछि गएर गुड फुटको नामले परिचित भयो । सायद ब्राउनलाई समेत थाहा थिएन होला, उनको शैलीले आधुनिक विश्वमा यस्तो छाप छोड्ला भनेर । झण्डै ४ दशक पुरानो ब्राउनको त्यो शैलीलाई तत्कालीन संगित र नृत्यप्रेमीले खुबै रुचाए, अनि त ब्राउनको त्यही गुड फुट शैली हिप हप, बी बोईङ, ब्रेक डान्सिङ अथवा ब्रेकिङको शुरुवात बन्यो ।
गुड फुटको सफलतापछि त्यतिबेलाका चर्चित डान्स जकी डिजे कुल हर्कले यसमा केही परिमार्जन गरी बी बोईङको नामकरण गरे । न्युयोर्कको ब्रङ्क्सबाट शुरु भएको त्यतिबेलाको बि बोईङमा टाउकोको भने खासै प्रयोग हुँदैनथ्यो । तर आजको मितिसम्म आइपुग्दा टाउकोले टेकेर गरिने नृत्य अर्थात हेडस्पिन र एउटा हत्केलाको भरमा गरिने नृत्य बि बोईङको मुख्य आकर्षण बनिसकेका छन् ।
खुट्टाको शक्तिशाली तर कलात्मक प्रस्तुतीसँगै, कम्मर, पाखुरा र टाउकोको समेत अपत्यारिला मुभमेन्टले वि– बोईङलाई अभूतपुर्व बनाउदै लगेको छ । मानिस होइन कुनै यन्त्रको प्रस्तुती जस्तो लाग्ने यो नृत्य आजको विश्वमा फरक पहिचान बनिसकेको छ, र त नेपालमा पनि बी बोईङ हरेक उमेर समुहमा लोकप्रिय बन्दैछ ।
नेपालमा ९० को दशकमा हिप हप भित्रिएपछि बी बोईङ सुरु भएको मानिन्छ । हिप हप नृत्यको झण्डै दुई दशकको अनुभवपछि नेपाली युवाहरुले बि बोईङको वास्तविकता बुझे र सोही अनुरुप नृत्य गर्न थाले । नेपालमा बि बोईङको संगठित अभ्यास भने तीन वर्ष अगाडि मात्रै शुरु भएको देखिन्छ । १८ वर्षदेखि नेपालमा बस्दै आएका थाई नागरिक मिकीले ठमेलको जिएए हलमा बी बोईङ ट्रेनिङ सुरु गरेपछि यसको आकर्षण ह्वात्तै बढ्यो । कठीन शारीरिक अभ्यास र यसमा समेटिएका विभिन्न स्टेपहरुले बि बोईङलाई स्पोर्ट्स डान्सको रुपमा पनि विकसित गरेको मीकीको बुझाई छ ।
‘बि बोईङ फिजिकल मुभमेन्ट मात्रै होइन, यो एउटा आर्ट पनि हो । झट्ट हेर्दा फिजीकल देखिएपनि यसमा दिमागको पनि अत्यन्तै कडा कसरत हुन्छ ’ मिकीले थपे – ‘कम्फु, उसु र मिक्स्ड मार्शल आर्टका कला पनि प्रयोग हुन्छ, त्यसैले म बि बोईङलाई स्पोर्ट्स डान्स भन्न पनि रुचाँउछु ।’
ठमेलको जिएए हलमा रहेको प्रशिक्षण केन्द्रमा सयौं प्रशिक्षार्थी व्यस्त छन् । बि बोईङमार्फत लागु औषध र सूर्तीजन्य पदार्थको प्रयोग रोक्न सक्दो सन्देश दिन यिनीहरु प्रयासरत छन् ।
‘मलाई यो डान्स हेर्दा अत्यन्तै मन पर्यो । त्यसपछि मैले अन्य नियमित नृत्य छोडेर यसैलाई अँगाले ’ हेर्दा खेलाडी जस्तो देखिने एक टिनएजर युवकले थपे – ‘यो केवल डान्स मात्रै होइन, युवाहरुलाई लागु औषध दुर्व्यसन र सुर्तीजन्य पदार्थको लतबाट टाढा राख्ने लक्ष्य नेपालमा बि बोईङले लिएको छ ।’
विश्वमै फरक रुची, चासो र दृष्टीले हेरीने यो नृत्यलाई नेपाली समाजले शुरु शुरुमा सहजै पचाउन सकेन । झण्डै २० वटा भन्दा बढी कार्यक्रममा गरेको प्रदर्शन र यसमा लागेको किशोर किशोरीको अनुशासित व्यवहारले विस्तारै नृत्यको यो फरक विधालाई स-सम्मान स्थापित गर्दै लगेको छ ।
थुप्रै स्टेज शोहरुमार्फत आफ्नो फरक परिचय बनाइसकेकी एक बि गर्लले मुस्काँउदै भनिन् – ‘शुरुशुरुमा त समाजले यसलाई पचाँउदैनथ्यो, अहिले यसको लोकप्रियता बढेर होला, सबैले यसलाई रुचाउन थालेका छन् ’ उनको गुनासो छ – ‘लोकप्रियता बढ्दै गएपनि परिवारले भने अझै पनि करियर पनि सोच, करियर पनि सोच भनेर बारम्बार भनिरहन्छ, अरु त ठीकै हो ’।
बि बोईङ हेर्दा जती रमाइलो छ, त्यती नैं कठिन र जोखिमयुक्त पनि छ । बि बोईङ गर्दा आफ्नो शरीरको सुरक्षामा निकै ध्यान दिनुपर्दछ र पहिरन पनि सोही अनुरुपको हुनुपर्दछ । घुँडा, कुइना, पाखुरा र टाउकोमा विशेष ध्यान दिएपछि बि बोईङको लागि शारीरिक र मानसिक रुपले तयार भएको मानिन्छ ।
समय गतिशील छ । हरपल यहाँ परिवर्तन भइरहेका छन् । ६० को दशकमा गुड फुटको नामले चिनिने फरक किसिमको यो नृत्यले विभिन्न चरण पार गर्दै आधुनिक ब्रेकिङ अर्थात बि बोईङको अवस्थासम्म आइपुग्दा विश्वभर यसको प्रभाव र माग बढ्दै गएको छ । आजभोली नेपाली बि बोईज र बी गल्र्सहरु समेत निकै व्यस्त छन् । आशा गरौं खेल कौशल, कला र साहस मिसिएको यो पृथक नृत्यले नेपाली समाजमा आफ्नै व्यवसायिकता खोज्न सकोस् । अनि वेरोजगारी, दुर्व्यसनी र कुलतको शिकार बनेका र बन्न सक्ने तमाम युवावर्गमा यसले सकारात्मक छाप छोड्न सकोस्, बी बोइङलाई शुभकामना ।
प्रतिक्रिया दिनुहोस्