७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


हरियो चुरा र मेहन्दीको मौसम


0
Shares

साउनको पहिलो सोमबार बिहानै पशुपतिनाथको मन्दिर पुग्दा मनै आल्हादित भयो । हरियो चुरा, हरियै बस्त्र र हत्केलाभरि मेहन्दीले सजिएका किशोरी, युवती र प्रौढ महिलाको भीड देख्दा हिन्दु संस्कार, संस्कृति र विश्वासप्रतिको गौरव झन गाढा भयो । बोलबमका पहेँला बस्त्रधारीहरुको ताँतीले झन उल्लास दियो । त्यसमाथि पशुपतिको लाइन र बोलबमको ताँतीमा पुरुषहरुको पनि सरावरी उपस्थिति देख्दा अझ रोचक लाग्यो । अव साउन महिलाको मात्र महिना रहेन ।

वास्तवमा साउन महिना धार्मिक, साँस्कृतिक र प्राकृतिक हरेक दृष्टिले महत्वपूर्ण छ । हरेक उमेरका ब्यक्तिलाई यसले आकर्षित गर्दछ । यो महिनाभरि हरियाली छाउँछ बाहिरी प्रकृति, शरीर र मनमा पनि । यो महिना हामी नारीहरुका लागि त झनै महत्वपूर्ण छ । अविवाहित भए असल पति पाउन र विवाहित भए पतिको दीर्घायु र परिवारको सुख, शान्ति र प्रेमको निम्ति यो महिनाभर भगवान शिवको पूजा आरधना गर्ने प्रचलन छ । साउने सोमवार त झनै बढी महत्वपूर्ण छ । त्यसमा पनि साउनमा पाँच वटा सोमबार परे त अरु के चाहियो र ! जस्तो कि यो वर्ष परेको छ ।यो महिना शिव महिना हो । महिनाभरि शिव पूजन गर्ने गरिन्छ । सोमबार त झन शिवको मनपर्ने दिन । त्यसैले पनि पशुपति मात्र हैन, देशैभरका शिव मन्दिरमा दर्शनार्थीको भीड लाग्ने गर्दछ । देश भित्र मात्र किन विदेशमा पनि जहाँजहाँ नेपाली पुगेका छन् त्यहाँ त्यहाँ शिव उत्सव हुने गरेको सुनिन्छ । नेपाली मात्र हैन, भारतीय र अरु अरु देशका हिन्दुहरुले पनि यो महिनालाई विशेष महत्वका साथ लिने गरेको पाइन्छ । यही मौसममा श्रावणी मेलाको पनि आयोजना हुने गरेको छ । वर्षभरिका मांसाहारीसमेत यो महिनाभर चाहिँ साकाहारी बन्ने चलन पनि अहिले निकै बढेको छ । यो राम्रो कुरा हो ।

यो महिनाभरि महिलाहरुले नाडीमा हरियो चुरा सजिने गर्दछ । हरियो रङ्ग प्रेम र वातावरणको प्रतीक हो । चुरा हामी हिन्दु नारीहरुको सौभाग्यको प्रतीक हो । यो सबैभन्दा आकर्षक सौन्दर्य प्रसाधन पनि हो । हरियो बस्त्रलाई प्रकृतिको सम्मान र विघ्न हरणको कवच मानिन्छ । हरियो बस्त्र, हरियै चुरा, हरियो पोते, हरियै टीका, हरियो टप अनि गाजलमाथि पनि हरियै लाइनर ! यो अहिले चलेको फेसन पनि हो । मेहन्दीको महत्व त झन वर्णन गरी साध्य छैन । कम्तीमा पनि सात आठ हजार वर्ष पुरानो सौन्दर्य साधनका रुपमा मेहन्दीको प्रयोग हुदै आएको शास्त्रहरुमा पाइन्छ । यो हाम्रो संस्कृति र सभ्यता हो । यसकोे धार्मिक महत्व पनि छ । पार्वतीले साउन महिनामै शिवलाई पाउनु भएको थियो रे ! सोमवार ब्रत बस्दा शिव भगवान खुसी भएर हाम्रो मनोकामना पुरा गरिदिनुहुन्छ रे !!

उसो त कतिपयले हरियो बस्त्रलाई आयातित भन्दै रातो र पहेँलो बस्त्रलाई नै हाम्रो मौलिकता मान्ने गरेको पनि पाइन्छ । त्यो पनि गलत हैन । रातो बस्त्र सौभाग्यको प्रतीक हो भने पहेँलो पवित्रताको । तर, हरियोको महत्वलाई कम आँक्न वा विरोध गर्न आवश्यक छैन । अव यो हाम्रो संस्कृति र सभ्यता बनिसकेको छ । बरु रातो, पहेँलो र हरियो तीनै रङको सम्मीश्रण गर्न पनि सकिन्छ, जुन प्रचलनमा पनि छ ।नेपाल विश्वको एक मात्र हिन्दु राष्ट्र थियो । आज हामीसँग त्यो पहिचान छैन । तर पनि हिन्दु धर्मप्रतिको आस्था घट्नुभन्दा झन बढ्दै गएको छ । त्यसको प्रमाणको रुपमा साउने सोमवारका दिन शिव मन्दिर गएर बुझ्न नेताहरुलाई सुझाव दिन मन लागेको छ । खैर, राजनीतिक जञ्जालमा मलाई प्रवेश गर्नु छैन । बरु रम्नु बेश छ, साउनको उल्लास अनि हरियो चुरा, मेहन्दी र हरियो बस्त्रसँगै शिव आरधनामा ।तपाईँको चाहिँ के विचार छ ???