
काठमाडौं, साउन ११ । ब्राजिलको रियो दि जिेनेरियोमा हुन गइरहेको ओलम्पिक गेम्समा सहभागी हुन जाने नेपाली टोलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिदाइ गरेकी छन् ।
मंगलबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित एक विशेष समारोहकाबीच राष्ट्रपति भण्डारीले खेलाडीलाई सफलताको शुभकामनासहित बिदाइ गरेकी हुन् ।
सो अवसरमा राष्ट्रपति भण्डारीले नेपाली टोलीका ‘सेफ डे मिसन’ एवं राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टलाई राष्ट्रिय झन्डा हस्तान्तरण गरिन् ।
ब्राजिलको रियोमा यही साउन २१ गतेदेखि हुन गइरहेको ओलम्पिक खेलकुदमा नेपालका एथ्लेटिक्स खेलाडीहरु हरिकुमार रिमाल र सरस्वती भट्टराई, पौडी खेलाडीहरु शिरीष गुरुङ र गौरिका सिंह, जुडोकी फुपूल्यामु खत्री, तेक्वान्दोकी निशा रावल र आर्चरीका जीतबहादुर मोक्तान सहभागी हुँदैछन् ।
गौरिका र जीतबहादुरबाहेक अरु ५ खेलाडीहरु नेपाली सेनामा आवद्ध छन् ।
यसैगरी, प्रशिक्षकतर्फ तेक्वान्दोकी संगीना वैद्य, पौडीका ईश्वर कार्की, एथ्लेटिक्सका पुष्प ओझा, जुडोकी देबु थापा र आर्चरीका दीपकराज गुरुङ पनि रियो ओलम्पिकका लागि ब्राजिल जाँदैछन् ।
प्रतिक्रिया दिनुहोस्