१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


टर्कीमा सैन्य ‘कु’ को प्रयासमा संलग्न धर्मगुरुका भतिजा पक्राउ


0
Shares

काठमाडौं, साउन ९ । टर्कीमा गत हप्ता भएको सत्ता कब्जाको असफल प्रयासपछि त्यसमा संलग्न भएको आरोपमा अमेरिकामा बस्दै आएका धर्मगुरु फतहुल्लाह गुलेनका भतिजालाई पक्राउ गरिएको छ ।

गुलेनको जन्मस्थान एर्जुरुमबाट उनका भतिजा मुहमेत सेइत गुलेनलाई पक्राउ गरिएको टर्कीको समाचार संस्था अनादोलुलाई उधृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएको छ । मुहमेतलाई राजधानी अंकारा लगिएको छ ।

टर्कीका राष्ट्रपति रिसेप टइप एर्डोगानले सैनिक कूको असफल प्रयासमा धर्म गुरु गुलेनको हात रहेको बताउँदै आएका छन् । टर्कीमा कुनै पनि व्यक्तिलाई बिना कुनै आरोप हिरासतमा राख्ने समय एक महिना बनाइएको छ ।

यस्तै कूमा संलग्न भएको आरोपमा एक हजार निजी विद्यालय तथा १२ सयभन्दा बढी संस्थालाई बन्द गर्न आदेश दिइएको छ ।

यस्ता संस्थामा १९ ट्रेड युनियन, १५ विश्वविद्यालय र ३५ मेडिकल संस्थान रहेको सरकारी समाचार संस्थाले जनाएको छ । कूको असफल प्रयासपछि टर्की सरकारले गत बुधबार तीन महिनाका लागि आपतकालीन अवस्था घोषणा गरेको थियो ।

अहिलेसम्म टर्की सरकारले कूमा संलग्न भएको आरोपमा ६० हजार सरकारी कर्मचारीलाई पक्राउ वा निलम्बन गरेको छ । पक्राउ परेका मध्ये १२ सय सैनिकलाई भने रिहा गरिएको छ । (एजेन्सी)