
काठमाडौं, साउन ८ । इङ्लिस प्रिमियर क्लब सण्डरल्याण्डका प्रशिक्षक साम अलार्डायस इङ्ल्यान्डको राष्ट्रिय फुटबल टोलीको नयाँ प्रशिक्षकमा नियुक्त भएका छन् ।
यसअघि नै अलार्डायस इङ्ल्यान्डको प्रशिक्षक बन्ने पक्का भइ सके पनि औपचारिक नियुक्ति भने भइ सकेको थिएन । युरोकप फुटबलमा इङ्ल्यान्डले सोचेअनुरुपको प्रदर्शन गर्न नसकेपछि तत्कालिन प्रशिक्षक रोय हज्सनले पदबाट राजीनामा दिएका थिए ।
त्यसपछि रिक्त पदमा इङ्लिस फुटबल संघ एफ.ए. ले अलार्डायससँग २ बर्षे सम्झौता गरेको हो । इङ्लिस टोली सम्हाल्ने जिम्मेवारी पाएसँगै अलार्डायसले लामो समयदेखि आफूले चाहेको भुमिका पाएको प्रतिक्रिया दिएका छन् ।
विगत ९ महिनादेखि सण्डरल्याण्डको प्रशिक्षक रहेका ६१ वर्षीय अलार्डायसले यसअघि वेष्ट ह्याम युनाईटेड, न्युकासल युनाईटेड र बोल्टन वान्डरर्सको पनि प्रशिक्षण समालेका थिए ।
आफ्नो करियरमा कुनै पनि मेजर फुटबल प्रतियोगिताको उपाधि जित्न नसकेका अलार्डायसले बोल्टन र वेष्ट ह्यामलाई च्याम्पियनसिपबाट प्रिमियर डिभिजनमा उकालेका थिए ।
सन् २००६ मा तत्कालिन प्रशिक्षक स्वेन गोरान एरीक्सनले छाडेपछि रिक्त रहेको इङ्लिस मेनेजरको पदका लागि एफ.ए.सँग अन्तर्वाता दिएका अलार्डायस त्यतिवेला राष्ट्रिय टोलीको नेतृत्व लिन असफल भएका थिए । फुटबल संघले त्यतिवेला स्टिभ मक्लरेनलाई प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्