
काठमाडौं, साउन ६ । ८ ओटा विधामध्ये ६ ओटा विधामा फुटबल खेलाडी तथा प्रशिक्षकलाई अवार्ड प्रदान गर्दै यो वर्षको पल्सर स्पोर्टस् अवार्ड सम्पन्न भएको छ ।
नेपाल खेलकुद पत्रकार मन्चद्धारा विहीबार राजधानीमा आयोजित अवार्डको १३औं संस्करणमा फुटबलले ८ मध्ये ६ विधामा बाजी मारेको हो ।
फुटबलमय बनेको अवार्डमा ‘टिम अफ दि इयर’ नेपाली राष्ट्रिय फुटबल टोली घोषित हुँदा वर्षको ‘सर्वोत्कृष्ट पुरुष खेलाडी’को अवार्ड राष्ट्रिय फुटबल टोलीकै स्ट्राइकर नवयुग श्रेष्ठले हात पारे ।
यस्तै, वर्षको ‘सर्वोत्कृष्ट प्रशिक्षक’को अवार्ड पनि राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक बालगोपाल महर्जनले हात पारे ।
सर्वोत्कृष्ट ‘महिला खेलाडी’को अवार्ड जुडोकी फुपूल्हामु खत्रीले हात पार्दा ‘पिपल्स च्वाइस अवार्ड’ टेबल टेनिसकी नवीता श्रेष्ठले हात पारिन् ।
यस्तै, वर्षको सर्वोत्कृष्ट युवा खेलाडी फुटबलका अन्जन विष्ट घोषित हुँदा ‘पारा एथ्लिट अफ दि इयर’ तेक्वान्दोकी सीता भण्डारी घोषित भइन् ।
कार्यक्रममा पूर्वराष्ट्रिय फुटबल खेलाडी श्रीराम रञ्जितकारलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरियो ।
यस्तै, ‘स्पेसल अवार्ड’ अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वकार्यबाहक अध्यक्ष स्व. ललितकृष्ण श्रेष्ठलाई मरणेप्रान्त सम्मानकारुपमा प्रदान गरियो ।
कार्यक्रममा सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडी र पिपल्स च्वाइस अवार्ड जित्न सफल खेलाडीले पल्सर बाइक हात पारेका छन् ।
अवार्ड विजेता खेलाडी तथा प्रशिक्षकले राष्ट्रकै गौरवमय अवार्डद्धारा सम्मानित हुन पाउँदा अत्यन्तै हर्षित भएको भन्दै आगामी दिनमा खेल कर्ममा अघि बढ्न झनै प्रेरित गरेको बताएका छन् ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्