
रमा कार्की –
धेरैलाई लाग्न सक्छ को हुन– डक्टर गोबिन्द केसी ? धेरैलाई यो पनि लाग्न सक्छ किन पटक पटक अनसन बसिरहन्छन, डक्टर केसी ? राजनीतिक रंगमा निथ्रुक्क भिजेका यहाँका एकथरी खतरनाक स्वास्थ्य माफिया निजी मेडिकल कलेज सञ्चालनहरुले भने झै के डा. केसी पागल हुन त !
महङ्गो शुल्कमा डाक्टरी सटिफिकेट बेच्न र गरिब जनता लुट्न पल्किएका कालो मनका सेता देखिनेहरु अहिले गोविन्द केसीलाई असफल बनाउन लागि परेका छन् । स्वास्थ्य माफियाका कालो कर्तुतलाई सघाउन ,ढाकछोप गर्न र राम्रो बनाउन दिनरात नभनी जुठो खान पल्किएका एकथरी बिबेकहीन मनुवाहरुले भने जस्तै के गोविन्द केसीले त्रिवि शिक्षण अस्पतालालाई ध्वस्त पारे या पार्दैछन् । अथावा कुनै दल या समुहबाट परिचालित गोटी नै हुन त डाक्टर केसी ।
यस्ताअनेकन प्रश्नहरु डा. केसीका नाममा सार्वजनिक भएका छन् । यदि उनी कसैका गोटी नै हुन भने ,कसले उनलाई परिचालित गरेको छ । सप्रमाण वाहिर आउनु पर्यो । उनी पागल नै हुन भने पनि प्रमाणित गर्नु पर्यो ।
यति बेला डा. केसी स्वतन्त्र नेपनली युवा मनका ढुकढुकी बनेका छन् । बाआमाको सम्पत्ती सकाएर उच्च शिक्षाको प्रमाणपत्र हातमा बोकेर रन्थनिएका लाखौ युवाका आश्थाका केन्द्र हुन डा. केसी । यसरी लाखौ लाख मानिसले विश्वास गरेका मान्छेलाई सहजै पागल र कसैको गोटी भएको भन्नु सर्वथा गलत हो ।देश र समाजलाई कमजोर पारेर दुनो सोझो पार्न पल्केकाहरुलाई एकजना मान्छेलाई पराजित पार्न सजिलो पर्ला , तर सिंगो सामजलाई पराजित पार्न खोज्दा कस्तो परिणाम निस्कन्छ सोचनीय विषय पनि हो ।
सिंगो नेपाल र नेपालीको हितको लागि निस्वार्थ भावले देशका नाममा मृत्युपत्रमा हस्ताक्षर गरिसकेका यी देशभक्त माहान डाक्टर गोविन्द केसीको बिरोध किन र के का लागि भइरहेको छ , सचेत नागरिक यति बेला गम्भीर बनेका छन् । । जो सिंगो देश र जनताको हितको लागि जीबन र मुत्युको दोसाँधमा बाचिरहेका छन् । त्यस्ता व्यक्तिकोे बिरोध गर्न त मानवीय धर्मले पनि नदिनु पर्ने हो । समाज अमानवीय केही व्यक्तिबाट आतंकित छ ।
प्रजातन्त्रमा विरोध र समर्थन गर्न पाइन्छ । यसका पनि परिधि हुन्छन् । कसैको विरोध गर्नु भनेको अपमान गर्नु होईन । अहिले डा. केसीको विरोधमा उत्रनेहरु नाङ्गो रुप देखाउदैछन् । डा. केसीको यो आन्दोलन अब उनको मात्र भएन । आम जनताको प्रतिष्ठाको विषय पनि हो । यस्ता विषयमा तथानाम बोल्दा त्यसको प्रभावमा पनि ख्याल गर्न जरुरी छ ।
डाक्टर गोबिन्द केसीले अनसन वसेकोे आज दसौ दिन नाघिसकेको छ । तर अहिले सम्म सरकारी निकायले उनकोे मागलाई सम्बोधन गर्ने कुनै सुरसार गरेको देखिदैन । न त कुनै राजनीतिक दल नै डाक्टर केसीको माग र स्वास्थ्य प्रति संवेदनशील देखिन्छन । पटकपटक अनसन बसि रहेका डाक्टर केसीको यो आठौं अनसन हो । उनी आठौं पटक पनि एउटै माग राखेर अनसन बसिरहेका छन् । जुन माग उनले पहिलो पटक अनसन बस्दा राखेका थिए । त्यहि माग आठौं पटक बसेको अनसनमा पनि राखेका छन् । सरकारले उनको माग पुरा गर्ने झुटो आस्वासन दिएर पटकपटक उनको अनसन तोडाउदै आएको थियो । हरेक पटक बागडोर समाल्नेहरुले डाक्टर केसीको मागलाई सम्बोधन गर्न तिर भन्दा झुटो आस्वासन दिएर डाक्टर केसीको अनसनलाई तोडाउनु मात्रैलाई सफलता ठानिरहेका छन् ।
जनता सामान्य उपचार गर्न नपाएर मर्नु नपरोस् । गरीबका छोरा छोरीले पनि आफ्नो योग्यताको आधारमा डाक्टरी पढ्न पाओस् । सिटामोल खान नपाएको भरमै कसैको अकाल मृत्यृ नहोस् । भ्रष्टचारीलाई कारवाही होस् । स्वास्थ्यसेवा जस्तो संवेदनशील सेवालाई कसैले पनि ठगेर खाने भाडो नबनाओस् । स्वास्थ्यसेवा दुरदराज विकट र गरीब बस्तीहरुमा पनि पुरयाईयोस् । देशमा सुशासन होस् भनेर पटकपटक एक जना प्रतिष्ठित चिकित्सक अनसन वसिरहेका छन् । यता सरकार र राजनीतिक दल मौन छन् । भ्रष्टाचारीका सहयोगीहरु उनलाई वदनाम गर्न लागि परेका छन् ।यो कस्तो बिडम्बना । के यो मुलुकमा सत् छैन। यो पटक गोविन्द केसीले आफ्नो आन्दोलनको छिनोफानो गर्ने यतयारीमा जुटेका छन् । डा.केसी देश हुन । यस पटक पनि गोविन्द केसीले हारे, भने देश हार्ने छ ।
देशको बागडोर समाल्न खुट्टा उचालेर बसेकाहरु र बागडोर छोड्न लागेका दुबै थरीले अहिले सरकारको हानाथापमा लागेर डाक्टर के.सीको माग प्रति वेवास्ता गर्दैछन् । भोली डा. केसीको ज्याल तलमाथि भए , मुलुक भयाभय अवस्थामा पुग्ने निश्चित छ । डा. केसी अब आम जनका भइसकेका छन् । उनको पक्षमा जनसागर उर्लिने पक्का छ । देशमा सुशासनको चाहाना कै कारण डाक्टर के.सी को मृत्येको कारण नबनोस । प्रमुखदलका लागि डा. केसीको अनसन मुख्य बन्नु पर्छ यसबेला । अब उनले उठाएका मुद्धा उनका मात्रै होइनन् । आम जनका हुन । आमजनका मागलाई बेलैमा सम्बोधन गरेर डा. केसीको जीवन रक्षा गर्न सरकार र दलहरु पछि परे भने यसले मुलुकमा अनिष्ठ निम्त्याउने पक्का छ ।
प्रतिक्रिया दिनुहोस्