१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


भारतीय प्रधानमन्त्री मोदीको नक्कली हस्ताक्षरसहितका कयौं दस्तावेज बरामद


0
Shares

नयाँ दिल्ली, साउन ५ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नक्कली हस्ताक्षरसहितका कयौं दस्तावेज बरामद भएको छ ।

भारतीय संचारमाध्यमहरुका अनुसार प्रधानमन्त्री कार्यालयमा सनाखतका लागि पठाइएको एउटा निमन्त्रणा कार्ड नक्कली पाइएपछि थालिएको अनुसन्धानबाट विभिन्न तथ्य प्रकाशमा आइरहेको छ । यसै क्रममा झारखण्डमा एकजना विरुद्ध मोदीको नक्कली हस्ताक्षर गरेको आरोपमा मुद्दा दायर गरिएको छ ।

ती व्यक्तिले कथित रुपमा एक पत्र तयार गरी मोदीको नक्कली हस्ताक्षर गरेका थिए जसमा उनलाई स्वतन्त्रता दिवस समारोहमा एक संगीत कार्यक्रम आयोजनाका लागि निमन्त्रणा गरिएको विवरण थियो ।

भारतीय संचारमाध्यमका अनुसार बोकारोमा बस्दै आएका पण्डित स्वराजकुमार राय नामका व्यक्तिले प्रधानमन्त्री कार्यालयमा सनाखतका लागि सो पत्र पठाएका थिए । सो पत्र देखेपछि प्रधानमन्त्री कार्यालयका कर्मचारी नै चकित भएको बताइन्छ ।

उक्त घटनामा छानविनको जिम्मेवारी सीबीआइलाई दिएपछि नयाँ घटनाहरु प्रकाशमा आउन थालेको छ । झारखण्ड र पश्चिम बंगालका केही क्षेत्रमा छापा मार्नेक्रममा सीबीआइले प्रधानमन्त्री मोदीका नक्कली हस्ताक्षरसहितका कयौं दस्तावेज बरामद गरेको बताइएको छ । ती दस्तावेज कुन क्षेत्रसँग सम्बन्धित थिए भन्नेबारे खुलाइएको छैन । प्रहरीले आरोपीलाई अझै पक्राउ गर्न नसकेको बताइएको छ । (एजेन्सी)