
काठमाडौं, साउन ४ । अमेरिकामा आसन्न अमेरिकी राष्ट्रपति पदका लागि पार्टीको आधिकारिक उम्मेदवार मनोनयन गर्न रिपब्लिकन पार्टीको सम्मेलन सुरु भएको छ ।
ओहायो राज्यमा सुरु भएको सम्मेलनमा पार्टीकातर्फबाट राष्ट्रपति पदमा अन्तिम स्वीकृति पाउने लागेका डोनाल्ड ट्रम्पको व्यवहारप्रति रुस्ट बनेका अमेरिकी पूर्वराष्ट्रपति बाबु–छोराद्वय जर्ज एच डब्लु बुश, जर्ज डब्लु बुश र राष्ट्रपतिको उम्मेदवारी होडमा रहेका मीट रोमनीलगायत नेताले बहिस्कार गरेका छन् ।
यसैगरी, सम्मेलन आयोजक राज्यका गभर्नर जोन कासिचले पनि सम्मेलन बहिस्कार गरेका छन् ।
सम्मेलन पनि हो–हल्लाकाबीच सुरु भएको छ । ट्रम्पविरुद्ध अरु व्यक्तिको उम्मेदवारी दर्ता गर्न सम्मेलनका अध्यक्षले रोकेपछि ट्रम्पविरोधीहरुले सम्मेलनमा हो–हल्ला गरेका हुन्ु ।
चार दिनसम्म चल्ने यस सम्मेलनले पार्टीका तर्फबाट राष्ट्रपति पदका लागि ट्रम्पको नाममा स्वीकृति दिने करिब निश्चित छ ।
ट्रम्पले उम्मेदवारी दौडमा रहेका सबैलाई पछि पार्दै आफ्नो दाबेदारी सुनिश्चित गरेका हुन् ।
सम्मेलनलाई सम्बोधन गर्दै डोनाल्ड ट्रम्पकी पत्नी मेलिना ट्रम्पले आफ्ना पतिको देशभक्तिप्रति शंका नगर्न अपील गरिन् ।
उनले अमेरिकी राष्ट्रपति पदमा आफ्नै पतिले जित्ने दाबी पनि गरिन् ।
उनले ट्रम्प इमान्दार, दयालु र सबैप्रति ध्यान दिने खालको नेता रहेको जिकिर गरिन् ।
ट्रम्पले भने सम्मेलनको अन्तिम दिन विहीवार सम्बोधन गर्ने कार्यक्रम छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्