११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


ओलम्पिकमा रुसका खेलाडीले सहभागी हुन नपाउने सम्भावना


0
Shares

काठमाडौं, साउन ४ । ब्राजिलको रियो दी जेनेरियोमा दुई हप्तापछि सुरु हुने ओलम्पिक खेलकुदमा रुसका कुनै पनि खेलाडीले सहभागिता जनाउन नपाउने सम्भावना बढेको छ ।

रुसी खेलकुदमा राज्यद्वारा प्रायोजित डोपिङको असर सोचेभन्दा निकै बढी रहेको अध्ययन प्रतिवेदन सार्वजनिक भएसँगै रियो ओलम्पिकबाट रुसी खेलाडीलाई हटाउने सम्भावना बढेको हो ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आईओसीका अध्यक्ष थोमस बाचले आज यसबारे एकल निर्णय गर्ने जनाइएका छन् । बाचले यसअघि नै खेलकुदको विकृतिको रुपमा रहेको डोपिङमा दोषी देखिनेहरुलाई सम्भव भएसम्मकै कडा कारवाही गर्ने प्रतिबद्धता जनाईसक्नुभएकाले रियो ओलम्पिकमा रुसका सबै खेलाडी प्रतिबन्धित हुने सम्भावना बढेको हो ।

रुसको एथ्लेटिक्स खेलमा ब्यापक डोपिङको असर रहेको प्रतिवेदन केही महिना अघि सार्वजनिक भएपछि आईओसीले अध्ययन गरेको थियो ।

आईओसीका लागि डाक्टर रिचार्ड म्याक्लरेनले गरेको अध्ययनमा पनि रुसका विभिन्न ३१ खेलमा सन् २०११ देखि २०१५ सम्म खेलाडीको प्रदर्शन बढाउन प्रतिबन्धित शक्तिबर्धक औषधीको ब्यापक प्रयोग भएको तथ्य फेला पारेको छ ।

साथै यस्ता कार्यक्रमलाई रुस सरकारका आधिकारीक निकायहरुले नै प्रायोजित गर्ने गरेको प्रमाणसमेत फेला परेको प्रतिवेदनको जिकीर छ ।

यसैका आधारमा रुसमाथि पूर्णप्रतिबन्ध लगाउन लागिएको हो । आईओसीले आज औपचारिक निर्णय गरेको खण्डमा ब्राजिलको रियोमा हुने ओलम्पिक र पारा ओलम्पिक खेलमा रुसका कुनै पनि खेलाडीले सहभागिता जनाउन पाउने छैनन् ।