
काठमाडौं, साउन ४ । राजधानीकै एक दम्पत्ती । बिहे भएको लामै समय बितिसकेको थियो । एकदिन पतिले पत्नीलाई आफ्ना गोप्य क्रियाकलाप क्यामेरामा कैद गर्ने प्रस्ताव राख्छन् । पत्नी सुरुमा त आनाकानी गर्छिन् तर पतिले आफ्ना गोप्य क्षण अविश्मरणणीय बनाउने भन्दै कुनै जोखिम नरहेको आश्वस्त पारेपछि उनी तयार भइन् ।
त्यो भिडियो सुरक्षित रहेकोमा उनीहरु ढुक्क थिए । तर एक दिन यस्तो आयो, उनीहरु छाँगाबाट खसेझैं भए । दम्पतीले आपसी सहमतिमा क्यामेरामा उतारेका विर्वस्त्र क्रियाकलाप चिनेजानेकै एक व्यक्तिको हातमा थियो । ऊ त्यही भिडियो देखाएर मोटो रकम माग गर्न थाल्यो । लाज र डरले हायलकायल दम्पत्ती अन्त्यमा प्रहरीको शरणमा पुगे ।
महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले अहिले यस्तै एउटा घटनामा अनुसन्धान अघि बढाएको छ । महाशाखाले ती दम्पत्तीको उजुरीका आधारमा सोमबार उक्त व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले तत्काल तीनैजनाको नाम गोप्य राखेर अनुसन्धान थालेको छ ।
‘पतिपत्नी डराएको, लजाएको र हताश मानसिकतामा आएका थिए, धम्क्याउने व्यक्तिलाई पक्राउ गरिएपछि उनीहरु केही ढुक्क त भए तर अझै पुरै निश्चिन्त हुन सकेका छैनन्,’ महाशाखाका निमित्त प्रमुख तथा एसपी प्रकाशजंग कार्कीले भने, ‘हामीले अनुसन्धान अघि बढाएका छौं ।’
महाशाखाको तथ्यांक अनुसार गत आर्थिक वर्षमा ‘साइबरक्राइम’ आकर्षित हुने यस्ता ८ सय ३० वटा घटनाका उजुरी प्रहरीमा दर्ता छन् । –नागरिक दैनिकबाट
प्रतिक्रिया दिनुहोस्