११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


सर्वाधिक पुरस्कार राशीको महिला क्रिकेट हुँदै, राष्ट्रिय टोली तयार पारिने  


0
Shares

 काठमाडौं, साउन ३ । विश्वकप छनोट खेल्ने नेपाली राष्ट्रिय महिला क्रिकेट टोली निर्माणका लागि आगामी हप्ता ‘महिला राष्ट्रिय छनोट प्रतियोगिता’ हुने भएको छ ।

यही साउन ८ देखि ११ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगितामा उत्कृष्ट ठहरिएका खेलाडीले यसै वर्ष हङकङमा हुने आइसीसी महिला विश्वकपअन्तर्गत् एसिया क्षेत्र छनोट खेल्ने नेपाली राष्ट्रिय महिला टोलीमा समावेश हुन पाउनेछन् ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)को आयोजनामा हुने प्रतियोगितामा एक विभागीय टोलीसहित पाँच विकास क्षेत्रका गरी ६ टोलीले सहभागिता जनाउनेछन् ।

‘टी–ट्वेन्टी फम्र्याट’मा हुने प्रतियोगितामा ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

सोअन्तर्गत् समूह ‘ए’मा सशस्त्र प्रहरी बलको एपीएफ क्लब, मध्यमाञ्चल र मध्यपश्चिमाञ्चल विकास क्षेत्र छन् ।

त्यस्तै, समूह–‘बी’मा पूर्वाञ्चल, पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रका टोली छन् ।

‘राउन्ड रोबिन लिग’मा खेलाइएका खेलअन्तर्गत् दुबै समूहमा शीर्ष स्थान ओगट्न सफल दुई टोली फाइनलमा पुग्नेछन् र उनीहरुबीच उपाधि भिडन्त हुनेछ ।

यसै प्रतियोगिताबाट उत्कृष्ट २४ खेलाडी छनोट गरी बन्द प्रशिक्षण शिविरको आयोजना गरिनेछ र राष्ट्रिय टोली तयार पारिनेछ ।

छनोट प्रतियोगिताको विजेता टोलीले रु एक लाख, उपविजेताले रु ५० हजारसहित ट्रफी, पदक आदि पाउनेछन् ।

त्यस्तै, प्रतियोगिताका उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सउमन, उत्कृष्ट बलरसहित उदीयमान खेलाडीले उचित पुरस्कार पाउनेछन् ।

नेपाली महिला क्रिकेटको इतिहासमै पहिलोपटक विजेता टोलीलाई यति धेरै नगद पुरस्कार राखिएको राखेपको जिकिर छ ।

नेपाली क्रिकेटको मातृसंगठन नेपाल क्रिकेट संघ (क्यान) अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)को निलम्बनमा परेकाबेला राखेपद्वारा गठित क्रिकेट समन्वय समिति अहिले सक्रिय छ । रासस