
काठमाडौं,साउन ३ । राष्ट्रपति बाराक ओबामाले लुजियानामा प्रहरी अधिकारीमाथि गरिएको आक्रमणको निन्दा गरेका छन् ।
उनले प्रहरी अधिकारीमाथि भएको आक्रमण कायरतापूर्ण रहेको टिप्पणी गरे । प्रहरीमाथि भइरहेका आक्रमणलाई कुनै हालतमा तर्कसंगत मान्न नसकिने र यस्तो आक्रमण गर्नेले कसैको पनि प्रतिनिधित्व नगर्ने उनको भनाई छ ।
यसअघि अमेरिकाको लुइजियानामा एक व्यक्तिले गोली हानी तीन प्रहरी अधिकारीको हत्या गरेका थिए । लुइजियाना राज्यको राजधानी बाटन रुजमा आक्रमणकारीले अन्धाधुन्ध गोली चलाउँदा अरु तीन प्रहरी अधिकारी पनि घाइते भएका छन् ।
घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । गोली चलाउने आक्रमणकारी पनि प्रहरी कारबाही मारिएका छन् ।
पहिले घटनामा एकभन्दा धेरै आक्रमणकारी संलग्न भएको खबर आएपनि लुइजियाना प्रहरीका कर्नेल माइक एडमनसनले घटनामा एक जना आक्रमणकारी मात्रै संलग्न भएको बताएका छन् ।
केही समयअघि लुइजियानामा एक अश्वेत व्यक्ति प्रहरी कारवाहीमा मारिएपछि अमेरिकाभर विरोध प्रदर्शन भएको थियो । त्यसपछि मिनेसोटामा एक प्रहरीमाथि गोली प्रहार गरिएको थियो ।
घटनाको बिरोमा डलासमा एक अश्वेत व्यक्तिले पाँच प्रहरी अधिकारीको हत्या गरेका थिए । अमेरिकामा पछिल्ला दिनमा जातीय भावना भड्कने खालका गतिविधि हुनुका साथै लगातार प्रहरीमाथि निशाना साँधिएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्