
अपडेट
काठमाडौं, साउन १ । टर्कीका राष्ट्रपति रेसिप तैयिप एर्दोगानले सैन्य ‘कू’को प्रयासलाई पूर्णरुपमा नियन्त्रण गरिएको दाबी गरेका छन् ।
टर्कीमा सैनिकहरुको एउटा समूहले सत्ता आफ्नो हातमा लिएको घोषणा गरेको केही घन्टामै राष्ट्रपतिले त्यो प्रयास असफल भएको र सरकारले त्यसलाई नियन्त्रणमा लिएको दाबी गरेका हुन् ।
सरकारले ‘कू’को प्रयासमा संलग्न रहेको आरोपमा १ हजार ५ सय ६३ जना सैन्य अधिकारीलाई पक्राउ गरेको छ भने ३० जना सैन्य अधिकारीहरुलाई बर्खास्त गरिएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ ।
शुक्रबार राति टर्कीस सेनाको एक समूहले सेनाका हातहतियार, ट्यांक, हेलिकोप्टरलगायतको प्रयोग गरेर निर्वाचित सरकारलाई सत्ताच्यूत गर्ने प्रयास गरेको थियो ।
‘कू’ गर्ने प्रयास गरेको सेनाको समूहले बन्दी बनाइएका सेना प्रमुख हुलुसी अकरलाई उद्दार गरिएको अधिकारीहरुले जनाएका छन् ।
अहिले टर्कीको अंकारा तथा इस्तानबुललगायतका विभिन्न स्थानमा कब्जा जमाएर बसेका सैनिकहरुले आफ्नो हातहतियार प्रहरीलाई बुझाउँदै आत्मसमर्पण गर्न थालेको पनि बताइएको छ ।
शुक्रबार राति राजधानी अंकारा र अर्को मुख्य सहर इस्तानबुलमा ठूलो मात्रामा हतियारले सुसज्जित सैनिक परिचालन भएका थिए ।
एक टीभी स्टेसनलाई नियन्त्रणमा लिँदै सैनिक अधिकारीहरुले टर्कीको सत्ता आफ्नो हातमा लिएको र छिटै नयाँ संविधान जारी हुने बताएका थिए । उनीहरुले टर्कीमा सत्ता अपदस्त गरी सैनिक कानुन लागू गरिएको घोषणासमेत गरेका थिए ।
सैन्य ‘कू’पछिको भिडन्तमा टर्कीको राजधानी अंकारामा कम्तीमा ९० जना सर्वसाधारणको मृत्यु भएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले जनाएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्