९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


सुनको सर्ट लगाउने भारतीय ‘गोल्ड म्यान’को हत्या


0
Shares

काठमाडौं, साउन १ । सुनको सर्ट पहिरिएर ‘गिनिज बुक अफ वर्ल्ड’ रेकर्डमा स्थान बनाएका भारतीय नागरिक दत्ता फुगेको विहीबार राति हत्या भएको छ ।

‘गोल्ड म्यान’को नामबाट चर्चित पुनेका ४८ वर्षीय फुगेलाई घरबाट अपहरण गरेर पछि उनको हत्या गरिएको उनकी पत्नी सीमा फुगेले प्रहरीलाई बताएकी छन् ।

प्रहरीले यस मामिलामा चारजना व्यक्तिलाई पक्राउ गरेको छ ।

भारत, पुनेनजिक दिघीमा राति फुगेमाथि चक्कुले आक्रमण गरिएको थियो । आक्रमणकारीले ढुंगाले उनको शिर किचिदिएका बताइएको छ ।

प्रहरीले घटनास्थलबाट चक्कु बरामद गरेको छ । केही दिन पहिले पैसाको लेनदेनको विषयमा भएको विवादका कारण यो हत्या भएको आशंका गरिएको छ ।

दिघी प्रहरीचौकीका एक प्रहरी निरीक्षकले संदिग्ध आक्रमणकारीले जन्मदिनको पार्टीको बहना बनाएर फुगेलाई लिएर गएको र उनको हत्या गरेको बताएका छन् ।

करिब तीन वर्ष पहिले साढे तीन किलोको सुनको सर्ट पहिरिएर फुगे चर्चित भएका थिए ।

उक्त सर्टले गिनिज बुकमा पनि स्थान बनाएको थियो । त्यस समयमा उक्त सर्टको मूल्य १ करोड १७ लाख भारु रहेको थियो ।

पुनेको आसपासमा फुगे ‘गोल्ड म्यान’को नामबाट चिनिन्थे । उनी ब्याजमा मानिसलाई कर्जा दिने गर्दथे ।

८/१० दिनअघि उनको केही व्यक्तिसँग पैसाको विषयलाई लिएर झगडा भएको प्रहरी अनुसन्धानमा देखिएको जनाइएको छ । (एजेन्सी)