९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


टर्कीमा सैनिक ‘कू’ देशभर कर्फ्यु, फेसबुक, ट्वीटर बन्द


0
Shares

काठमाडौं, साउन १ । टर्कीमा सैनिक ‘कू’ भएको छ । टर्कीको सेनाले एक बयान जारी गरेर सत्तामा नियन्त्रण कायम गरेको दाबी गरेको छ ।

सेनाले पिस काउन्सिल समूह बनाएर सत्ता नियन्त्रणमा लिएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले जनाएका छन् । देशभर सेनाको नियन्त्रण रहेको र सैनिक कानुन लागू गरिएको सेनाले जारी गरेको बयानमा उल्लेख छ ।

प्रजातान्त्रिक संविधान निलम्बन गरी नयाँ संविधान जारी गरिएको सेनाले जारी गरेको बयानमा उल्लेख छ । सेनाको बयान त्यहाँको राष्ट्रिय टेलिभिजनबाट प्रसारण गरिएको हो ।

सैन्य ‘कू’पछि देशभर कर्पफ्यु लगाइएको सेनाले जनाएको छ । इस्तानबुलसहित मुख्य सहरमा सेना परिचालन भएको तथा राजधानी अंकारामा सेनाका विमान उडेको बताइएको छ ।

सेनाका कुन स्तरका अधिकारीको समर्थन ‘कू’मा छ भन्ने खुलेको छैन । सेनाका केही उच्च अधिकारीलाई बन्धक बनाइएको खबरमा उल्लेख छ । इस्तानबुलमा रहेको प्रहरीको मुख्यालय अगाडि गोली हानाहानको आवाज सुनिएको छ ।

राष्ट्रपति रिसेप टाइप एर्डोगानले यो सेनाका अल्पसंख्यकले गरेको विद्रोह र यसबाट देशबाहिर निस्कने बताएको सीएनएन टर्कीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

यसैबीच, सेनाले ‘कू’ गरेपछि सामाजिक सन्जालमा पनि प्रतिबन्ध लागेको छ ।

टर्कीमा फेसबुक, ट्वीटर तथा युट्युब खुलेका छैनन् । सेनाले सत्ता आफ्नो नियन्त्रणमा लिएलगत्तै सामाजिक सन्जालमा प्रतिबन्ध लगाएको हुनसक्ने बेलायती सन्चारमाध्यमहरुले जनाएका छन् । (एजेन्सी)