११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


साइकल रेसमा साइकल छाडेर दौडिए यी सहभागी, यस्तो थियो कारण


0
Shares

पेरिस, असार ३१ । फ्रान्समा जारी टुर डे फ्रान्स साईक्लिङ प्रतियोगिताअन्तर्गत हिजो भएको १२ औं चरणको रेसमा अनौठो दृष्य देखिएको छ ।

समग्र तालिकामा अग्रता लिइरहेका ब्रिटिस राईडर क्रिस फ्रुमको साईकल दुर्घटनामा परेपछि उनले दौडिएरै रेस सकाएका छन् । १२ औं चरणको लागि निर्धारित दुरी सकिन झण्डै १ किलोमिटर बाँकी रहँदा फ्रुमको साईकललाई रेसकै सुरक्षामा खटिएका आयोजककै मोटरसाईकलले ठक्कर दिएको थियो ।

दुर्घटनापछि फ्रुमको साईकल गुडाउनै नमिल्ने गरी बिग्रिएको थियो । अर्को साईकल लिएको उनको टिमका सहयोगीहरु निकै पछाडि रहेकाले सुरुमा फ्रुमले दुर्घटनाग्रस्त साईकल लिएरै दौडिए । तर यसपछि पहाडी उकालो दुरी पार गर्न फ्रुमले साईकल छाडेर दौडिएरै बाँकी दुरी पार गरे ।

आयोजककै कमजोरीले रेस लिडरको साईकल दुर्घटनामा परेपछि १२ औं चरणको नतिजा के गर्ने भन्नेमा आयोजकहरु अन्योलमा परेका थिए । यो चरणमा थोमस डे गेन्ट पहिलो भए भने सर्गे पवेल्स दोस्रो भए । तर रेस आयोजकहरुले फ्रुमको साईकल दुर्घटनालाई दुर्भाग्य भन्दै समग्र तालिकामा भने फ्रुमलाई नै अग्रस्थानमा राखेका छन् ।

दुर्घटनापछिको परिणामलाई जस्ताको तस्तै गणना गरिएको भए समग्र तालिकामा हाल दोस्रो र तेस्रो स्थानमा रहेका एडम याट्स र नायरो कुएन्टाना शीर्ष दुई स्थानमा आउँथे भने फ्रुम तेस्रो स्थानमा झर्ने थिए ।